

जनकपुरधाम । जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान सुरु भएको छ। शनिबार बिहानदेखि गिरनारी कुट्टी नजिकको गोरधोइ पोखरीको अतिक्रमित डिल डोजर लगाएर खाली गराउन थालिएको हो।
गुठी संस्थान जनकपुरधामले अतिक्रमित संरचना हटाउन डोजर परिचालन गरेको हो। यसअघि संस्थानले साउन १ गते सार्वजनिक सूचना जारी गर्दै अतिक्रमित जग्गा खाली गर्न आग्रह गरेको थियो। भदौ ५ गते जनकपुर नगर क्षेत्रमा माइकिङ गरेर पुनः सूचना दिइएको थियो।
सूचना जारी गर्दा पनि अतिक्रमित जग्गा खाली नभएपछि संस्थानले डोजर लगाएर संरचना हटाउन थालेको हो।
गुठी संस्थान जनकपुरधामका किशोरकुमार झाले पहिलो चरणमा गोरधोइ पोखरीको अतिक्रमित डिल खाली गराउन सुरु गरिएको जानकारी दिए। उनका अनुसार जनकपुरधाममा रहेका करिब ५० पोखरीमध्ये पहिलो चरणमा ७ वटा पोखरीलाई अतिक्रमणमुक्त बनाउने तयारी छ।
अतिक्रमित संरचना हटाउने क्रममा सम्भावित अवरोध र सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।