‘बालेन सरकार पाँच वर्ष टिक्दैन’- ओली

‘बालेन सरकार पाँच वर्ष टिक्दैन’- ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार पाँच वर्ष नटिक्ने दाबी गरेका छन्। नगरकोटमा आयोजित जनसंगठन समन्वय संयन्त्रको कार्यशालालाई सम्बोधन गर्दै ओलीले अराजक शक्तिलाई देशको जिम्मेवारी दिन नसकिने बताए। उनले सरकारविरुद्ध जनता आफैँ आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै पार्टी पंक्तिलाई तयारी अवस्थामा रहन निर्देशन दिए।

ओलीले लोकतन्त्र अपहरित भएको र संविधान मिचिएको आरोप लगाउँदै अहिले जनतामा त्रासको वातावरण रहेको दाबी गरे। उनले भने, ‘यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन। हाटहुट, लाटलुट, जनतालाई तर्साएर, थर्काएर, बोल्न नसक्ने बनाएर, जेसुकै गरेर बहुमत ल्याएको देखाइयो। बहुमत आयो भन्दैमा पाँच वर्ष लुटमार गर्न दिएको हो र ?’

दरबारको व्यवस्था हटाएर गणतन्त्र ल्याउने शक्ति भएकाले आफूहरू कुनै शक्तिसँग नडराउने उनले बताए।

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मतदान गरेर बहुमत दिएकोमा जनतामा पछुतो सुरु भइसकेको दाबीसमेत गरे। सरकारका गतिविधिविरुद्ध जनताले आफैँ आवाज उठाउने भन्दै उनले त्यसका लागि एमालेका नेता-कार्यकर्तालाई तयार रहन आग्रह गरे।