साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म तीनदिने लोकदोहोरी मेला

साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म तीनदिने लोकदोहोरी मेला

काठमाडौं । नेपाली लोकसंगीत र दोहोरीको माहोल तताउने तीनदिने ‘लोकदोहोरी मेला’ आजदेखि काठमाडौंको जमलस्थित टप दरबार रोधी क्लबमा सुरु हुँदैछ। टप दरबार रोधी क्लबको ग्रान्ड ओपनिङको अवसरमा आयोजना गरिएको मेलामा लोकदोहोरी क्षेत्रका चर्चित कलाकारदेखि चलचित्र क्षेत्रका स्थापित व्यक्तित्वसम्मको सहभागिता रहने आयोजकले जनाएको छ।

भदौ ५ देखि ७ गतेसम्म चल्ने मेलाको पहिलो दिन भुवन केसी, दिनेश डीसी, दुर्गेश थापा, नीर शाह, शिव श्रेष्ठ, ज्योति मगर, कृष्ण कँडेल, दुर्गा रायमाझी, नारायण रायमाझी, रीता थापा, प्रेम लोचन, सम्झना लामिछाने, सुरेश अधिकारी, पुष्कल शर्मा र चन्द्र शर्मालगायत कलाकार तथा विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ।

मेलामा लोकदोहोरी तथा नेपाली कला–संस्कृतिसँग जोडिएका कलाकारको प्रत्यक्ष प्रस्तुति, सांगीतिक कार्यक्रम र विभिन्न सांस्कृतिक गतिविधि सञ्चालन हुनेछन्। क्लबमा नियमित आबद्ध करिब ६० जना कलाकारले समेत विशेष प्रस्तुति दिने आयोजकले जनाएको छ।

क्लबका सञ्चालक अशोक गिरीले करिब २५ वर्षदेखि दोहोरी तथा रोधी क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै स्थापित र नयाँ पुस्ताका कलाकारलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले मेला आयोजना गरिएको बताए।

उनका अनुसार टप दरबार रोधीलाई मनोरञ्जनस्थल मात्र नभई नेपाली लोकसंगीत, कलाकार र दर्शकबीचको साझा गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य छ। रोधी तथा दोहोरी व्यवसायलाई व्यवस्थित, मर्यादित र पारिवारिक वातावरणमा अघि बढाउने उद्देश्य रहेको उनले बताए।

करिब ७ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको क्लबमा एकपटकमा करिब २०० जना अट्ने क्षमता रहेको छ। क्लबले प्रत्यक्ष रूपमा १०० भन्दा बढीलाई रोजगारी दिएको जनाएको छ।

नेपाली मौलिक परिकार, स्तरीय सेवा, आधुनिक प्रविधि, प्रत्यक्ष सांगीतिक प्रस्तुति र पारिवारिक वातावरणलाई क्लबका प्रमुख विशेषताका रूपमा अघि सारिएको छ।

ग्रान्ड ओपनिङसँगै आयोजना भइरहेको लोकदोहोरी मेला हरेक दिन साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रम जमलस्थित विश्वज्योति मलको चौथो तलामा रहेको टप दरबार रोधी क्लबमा हुँदैछ।