

काठमाडौं । नेपाली चलचित्र ‘गौँथली’ ले बक्स अफिसमा निरन्तर राम्रो प्रदर्शन गर्दै आफ्नो कमाइ २० करोड रुपैयाँको नजिक पुर्याएको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार ‘गौँथली’ले अहिलेसम्म १७ करोड ७१ लाख ६ हजार रुपैयाँ ग्रस कमाइ गरेको छ।
बोर्डका अनुसार साउन २४ गते आइतबारसम्म चलचित्रका ७ लाख १५ हजारभन्दा बढी टिकट बिक्री भइसकेका छन्। कमाइका आधारमा ‘गौँथली’ अहिले सर्वाधिक ग्रस कमाउने नेपाली चलचित्रको सूचीमा चौथो स्थानमा पुगेको छ।
चलचित्रले ‘जारी’को १७ करोड ४८ लाख रुपैयाँ, ‘छक्का पञ्जा ४’को १७ करोड ५३ लाख रुपैयाँ तथा ‘परान’को १७ करोड ७६ लाख रुपैयाँको लाइफटाइम ग्रस कमाइलाई उछिनेको हो।
अब ‘गौँथली’भन्दा अगाडि तेस्रो स्थानमा ‘१२ गाउँ’ रहेको छ। ‘१२ गाउँ’ले १९ करोड ९२ लाख रुपैयाँ ग्रस कमाएको छ। त्यस्तै, दोस्रो स्थानमा ‘कबड्डी ४’ रहेको छ। उक्त चलचित्रको लाइफटाइम ग्रस कमाइ २१ करोड ४० लाख रुपैयाँ रहेको छ। सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रको शीर्ष स्थानमा भने ‘पूर्णबहादुरको सारंगी’ रहेको छ। चलचित्रले ४६ करोड ८७ लाख रुपैयाँ ग्रस कमाएको छ।
डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्। डा. भोला रिजालको कथामा आधारित चलचित्रका निर्माता सुमन गिरी र कपिल रिजाल हुन्। बक्स अफिसमा लगातार दर्शकको साथ पाइरहेको ‘गौँथली’ले अब तेस्रो स्थानमा रहेको ‘१२ गाउँ’लाई उछिन्न करिब २ करोड २१ लाख रुपैयाँ थप कमाउनुपर्नेछ।