

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको नेपाली फिल्म ‘मास्टर्नी’ ले केन्द्रीय चलचित्र जाँच समितिबाट सार्वजनिक प्रदर्शनका लागि जाँचपास प्रमाणपत्र प्राप्त गरेको छ। समितिले फिल्मलाई ‘ए’ श्रेणीमा वर्गीकरण गर्दै १६ वर्ष उमेर पूरा गरेका दर्शकले मात्र हेर्न पाउने गरी प्रदर्शन अनुमति दिएको हो।
केन्द्रीय चलचित्र जाँच समितिले १४ अगस्ट २०२६ मा जारी गरेको प्रमाणपत्रअनुसार ‘मास्टर्नी’लाई नेपालभित्र सार्वजनिक प्रदर्शनका लागि अनुमति दिइएको छ। प्रमाणपत्र चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ८ बमोजिम जारी गरिएको हो।
प्रमाणपत्रमा फिल्मको भाषा नेपाली र अवधि २ घण्टा ३ मिनेट उल्लेख छ। फिल्मका निर्माता आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की हुन् भने निर्देशन सुवेन्दु घोषले गरेका छन्।
समितिले ‘मास्टर्नी’लाई ‘ए’ श्रेणीमा राख्दै १६ वर्षभन्दा माथिका दर्शकलाई मात्र फिल्म हेर्न अनुमति दिएको छ। प्रमाणपत्रमा ‘Above 16 years of age may be allowed to see the film’ उल्लेख गरिएको छ।
प्रमाणपत्रअनुसार यसको मान्यता १३ अगस्ट २०३१ सम्म रहनेछ। फिल्ममा धूमपान वा मदिराजन्य पदार्थको प्रयोगसम्बन्धी दृश्य भए स्वास्थ्य चेतावनी अनिवार्य रूपमा राख्नुपर्ने समितिले जनाएको छ। त्यस्ता दृश्य देखाउँदा स्क्रिनको तल्लो भागमा ‘धूमपान/मद्यपान स्वास्थ्यका लागि हानिकारक छ’ भन्ने सन्देश राख्नुपर्नेछ।
जाँचपाससँगै ‘मास्टर्नी’ले नेपालमा सार्वजनिक प्रदर्शनका लागि आवश्यक प्रमुख सरकारी प्रक्रियामध्ये जाँचपासको चरण पूरा गरेको छ। प्रमाणपत्रमा केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष उदयबहादुर रानामगरको हस्ताक्षर रहेको छ। फिल्म भदौ ५ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ।

‘मास्टर्नी’लाई फ्यामिली ड्रामाका रूपमा प्रस्तुत गरिएको छ। फिल्ममा प्रियंका कार्की जोशी, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले र रक्षा थापालगायत कलाकारको अभिनय छ।
फिल्मको कथा प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान बस्नेतको हो। संवादमा प्रियंका र शान बस्नेतको सहकार्य रहेको छ। फिल्ममा प्रियंका, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीको संयुक्त लगानी छ। सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता हुन्।
भारतीय प्राविधिक टोलीको समेत सहभागिता रहेको फिल्मको छायांकन युवराज इन्दोरियाले गरेका छन्। राजा सिंह सिदुले सम्पादन गरेको फिल्ममा राजेन्द्र मोक्तानको कलर करेक्सन, मुकेश शाहको ध्वनि मिश्रण, रोहित शाक्यको संगीत र त्रिशाला गुरुङको स्वर रहेको छ। रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) ले फिल्मको पब्लिसिटी डिजाइन गरेको छ भने नेपालभर आरआर फिल्मसले वितरण गर्नेछ।