

काठमाडौं । नेपाली चलचित्र ‘गौँथली’ले बक्सअफिसमा आक्रामक प्रदर्शन जारी राख्दै हालसम्म २३ करोड ५५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ। साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले आइतबारसम्म उक्त रकम संकलन गरेको हो। चलचित्र हेर्ने दर्शकको संख्या पनि ८ लाख ५५ हजार ७५२ पुगेको छ।
डा. कपिल रिजाल निर्देशित ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिनालगायत कलाकारको अभिनय छ।
यसैबीच, साउन २२ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘हली’ले आइतबारसम्म २१ लाख ७७ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ। चलचित्रका ७ हजार ७१० टिकट बिक्री भएका छन्।
ओम प्रतीक निर्देशित चलचित्रमा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीलगायत कलाकारको अभिनय छ।
कलाकार तथा निर्देशक नीर शाह निर्देशित चलचित्र ‘कमला मिस’ले हालसम्म २ लाख ६१ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ। साउन २२ गतेदेखि प्रदर्शनमा आएको चलचित्रलाई आइतबारसम्म ७१८ जना दर्शकले हेरेका छन्।
साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’मा आधारित रहेर ‘कमला मिस’ निर्माण गरिएको हो। बक्सअफिस तथ्यांकअनुसार पछिल्लो समय प्रदर्शनमा रहेका चलचित्रमध्ये ‘गौँथली’ले अन्य चलचित्रभन्दा निकै ठूलो अन्तरसहित अग्रता कायम गरेको देखिएको छ।