ऐश्वर्यासँग प्रेम सुरु भएको जयपुर : अभिषेक बच्चन

ऐश्वर्यासँग प्रेम सुरु भएको जयपुर : अभिषेक बच्चन

मुम्बई । अभिनेता अभिषेक बच्चनका लागि जयपुर केवल एउटा सहर होइन, पत्नी ऐश्वर्या रायसँगको प्रेमकथासँग जोडिएको विशेष ठाउँ पनि हो। उनले जयपुर पिंक प्यान्थर्ससँगको आफ्नो सम्बन्धबारे कुरा गर्दै यस्तो खुलासा गरेका हुन्।

पोडकास्ट कार्यक्रम ‘फ्युचर अनप्लग्ड’मा पिडब्लुसी इन्डियाका अध्यक्ष सञ्जीव कृष्णनसँग कुराकानी गर्दै अभिषेकले जयपुर रोज्नुको व्यक्तिगत कारणसमेत सुनाए।

उनका अनुसार सन् २००० मा आफ्नो पहिलो फिल्म ‘रिफ्युजी’को केही भागको छायांकन जयपुरमै भएको थियो। त्यसैले कुनै नयाँ कामको सुरुवातका लागि जयपुर शुभ हुने उनको विश्वास थियो। त्यही सहरमा ऐश्वर्या र आफूले डेट गर्न सुरु गरेकाले जयपुरसँग भावनात्मक सम्बन्धसमेत जोडिएको उनले बताए।

अभिषेकले जयपुर पिंक प्यान्थर्सको नाम र रंगमा पनि परिवारसँग जोडिएका व्यक्तिगत पक्ष रहेको बताए। त्यसबेला छोरी आराध्याको मनपर्ने रंग भएकाले पिंक रोजेको र ‘पिंक प्यान्थर’ ऐश्वर्याले अभिनय गरेको फिल्म भएकाले पनि नामसँग सम्बन्ध जोडिएको उनको भनाइ छ।

उनले आफ्नो टोलीको प्यान्थरको आँखाको रंग पनि ऐश्वर्याको आँखाजस्तै नीलो–हरियो राखिएको बताए। यसरी जयपुर पिंक प्यान्थर्ससँग जोडिएका धेरै पक्ष व्यक्तिगत जीवनसँग गाँसिएको उनको भनाइ छ।

अभिषेक र ऐश्वर्याको विवाह सन् २००७ अप्रिलमा मुम्बईमा भएको थियो। उनीहरूको पहिलो भेट ‘ढाई अक्षर प्रेम के’को छायांकनका क्रममा सन् २००० मा भएको थियो। सुरुमा उनीहरूबीच मित्रता मात्र रहेको अभिषेकले बताउँदै आएका छन्।

पछि ‘कुछ ना कहो’, ‘धूम २’, ‘गुरु’, ‘सरकार राज’लगायत फिल्ममा सँगै काम गरे। ‘गुरु’ प्रदर्शन भएको केही समयपछि उनीहरूले विवाह गरेका थिए।

अभिषेकका अनुसार निर्देशक मणिरत्नम उनीहरू दुवैका लागि विशेष व्यक्ति हुन्। उनले ऐश्वर्यालाई आफ्नी जीवनसाथी मात्र नभई छोरी आराध्याको हुर्काइमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिका रूपमा समेत प्रशंसा गरेका छन्।

आगामी वैवाहिक वार्षिकोत्सवका लागि आफूले विशेष योजना बनाएको उल्लेख गर्दै अभिषेकले सफल वैवाहिक जीवनका लागि हल्का शैलीमा एउटा सुझावसमेत दिए। उनका अनुसार हरेक रात सुत्नुअघि श्रीमतीसँग तीनपटक ‘सरी’ भन्नु उपयुक्त हुन्छ।