सर्तसहित नयाँ तलबमान लागू गर्न अर्थ मन्त्रालयको निर्देशन

सर्तसहित नयाँ तलबमान लागू गर्न अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी बढाइएको तलबमान, ग्रेड तथा प्रोत्साहनभत्ता विभिन्न सर्तसहित उपलब्ध गराउन निर्देशन दिएको छ।अर्थमन्त्रीस्तरीय निर्णयअनुसार सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, निगम तथा समितिका कर्मचारीलाई तलबभत्ता, ग्रेड र प्रोत्साहनभत्ता उपलब्ध गराउन चारवटा सर्त पालना गर्नुपर्नेछ।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले मन्त्रिपरिषद्को साउन ६ गतेको निर्णयअनुसार साउन १ गतेदेखि लागू हुने नयाँ तलबमानका आधारमा तह तथा पदअनुसार तलब निर्धारण गर्न निर्देशन दिएको छ।

प्रोत्साहनभत्ता पाउँदै आएका कर्मचारीको हकमा हाल कायम भत्ताभन्दा नयाँ व्यवस्था कम हुने भएमा घटेको रकम बराबरको मात्रै भत्ता उपलब्ध गराउन भनिएको छ। त्यस्तै, कार्यसम्पादन सूचकका आधारमा प्रदान गरिने प्रोत्साहनभत्ताको व्यवस्था क्रमशः कार्यान्वयनमा ल्याउन मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयले हाल खाइपाइ आएको ग्रेडभन्दा निजामती सेवामा लागू भएको नयाँ ग्रेडदर कम भएमा त्यसैअनुसार हुने गरी मात्रै नयाँ ग्रेड निर्धारण गर्न निर्देशन दिएको छ।

अर्थ मन्त्रालयको पूर्वस्वीकृतिबिना आर्थिक दायित्व सिर्जना हुने गरी अन्य कुनै किसिमका भत्ता तथा सुविधा वृद्धि नगर्नसमेत निर्देशन दिइएको छ। साथै, यसअघि जारी भएका सम्बन्धित परिपत्रलाई समेत ध्यानमा राख्न भनिएको छ।