बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा नियुक्त भएका छन्।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेताको समर्थनमा थापालाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।

प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए। सोहीअनुसार थापाले तीन दलका ६३ सांसदको समर्थनसहित बुधबार मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

यद्यपि, सरकार गठनमा राप्रपाको समर्थनलाई लिएर पार्टीभित्र विवाद देखिएको छ। राप्रपा केन्द्रले प्रदेशमा कुनै दललाई समर्थन गर्ने निर्णय नभएको स्पष्ट गर्दै प्रदेश प्रमुखलाई बुधबार नै पत्र पठाएको थियो। पार्टीको केन्द्रीय निर्देशनबिना प्रदेश संसदीय दलले गरेको निर्णय आधिकारिक नभएको राप्रपा केन्द्रको भनाइ थियो।

यसैबीच, राप्रपा संसदीय दलका नेता उद्धव थापामाथि पार्टीले कारबाही गर्दै सदस्यतासमेत खारेज गरिसकेको जनाएको छ।

किरण थापा बागमती प्रदेशका सातौँ मुख्यमन्त्री बनेका छन्। प्रदेश गठनपछि पहिलो कार्यकालमा डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बनेका थिए। दोस्रो कार्यकालमा शालिकराम जम्कट्टेल, बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।