

काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई २४ सै घण्टा सुरक्षित, व्यवस्थित, पारिवारिक र मर्यादित रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ। ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित टोली र काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलबीच भएको भेटमा ठमेललाई चौबीसै घण्टा सञ्चालनका लागि सहकार्य गर्ने सहमति भएको हो।
परिषद्का महासचिव पशुपति कँडेलका अनुसार ठमेललाई २४ घण्टे पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र परिषद्बीच समन्वय गरी अघि बढ्ने सहमति भएको छ।
भेटमा ठमेल क्षेत्रको शान्ति-सुरक्षा, ट्राफिक व्यवस्थापन, सडक बालबालिकाको उचित व्यवस्थापन तथा हकर्स व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो। प्रमुख जिल्ला अधिकारी पौडेलले ठमेललाई थप व्यवस्थित बनाउन आवश्यकताअनुसार सुरक्षा निकाय परिचालन गर्ने र परिषद्सँग प्रभावकारी समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।
परिषद्का अध्यक्ष राजुमान डङ्गोलले ठमेलमा दीर्घकालीन शान्ति, सुरक्षा र पर्यटनमैत्री वातावरण निर्माण गर्न विभिन्न सरकारी तथा सरोकारवाला निकायसँग सहकार्य भइरहेको बताए।
ठमेल पर्यटन विकास परिषद्का तत्कालीन अध्यक्ष भविश्वर शर्माको पहलमा २०८१ सालमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले ठमेललाई २४ सै घण्टा सञ्चालन गर्ने घोषणा गरेका थिए। परिषद्ले ठमेलको विकास र सुरक्षाका लागि सबै सरोकारवाला पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने जनाएको छ।