

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई निलम्बन गरेको छ। पार्टीको निर्णय र निर्देशनविपरीत प्रदेश सरकार गठनमा समर्थन गरेको भन्दै उनलाई कारबाही गरिएको हो।
बिहीबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थापालाई पार्टी सदस्यताबाट निलम्बन गर्दै प्रदेशसभा सदस्य पदबाट समेत पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ।
राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा थापाको गतिविधिलाई गम्भीर अनुशासन उल्लंघनका रूपमा लिइएको जनाइएको छ। पार्टी विधानको धारा ३० (ड) र ३२ (ङ) बमोजिम कारबाही गर्ने निर्णय गरिएको हो।
पार्टीले थापामाथिको निर्णयको जानकारी बागमती प्रदेशसभा, निर्वाचन आयोग तथा सम्बन्धित निकायलाई पठाउने जनाएको छ।
राप्रपाले पार्टीको निर्णय र निर्देशनविपरीत प्रदेश सरकार गठनको प्रक्रियामा सहभागी नहुन बागमतीका आफ्ना प्रदेशसभा सदस्यलाई निर्देशनसमेत दिएको छ। त्यस्तो निर्देशन उल्लंघन गरी सरकारलाई समर्थन गर्ने वा सरकारमा सहभागी हुनेमाथि पनि कारबाही गरिने चेतावनी दिइएको छ।
केन्द्रीय कार्यसम्पादन समितिको निर्णयमा राप्रपाका पूर्वअध्यक्ष कमल थापाले भने फरक मत राखेका छन्।
यसैबीच, नेकपा एमालेका किरण थापा नेतृत्वको बागमती प्रदेश सरकारमा राप्रपाबाट तीन जना मन्त्री सहभागी हुने तयारी भइरहेको छ। राप्रपा प्रदेश संसदीय दलका उपनेता गिरबहादुर तामाङ (ज्ञानुजंग लामा)को नेतृत्वमा पार्टी सरकारमा सहभागी हुन लागेको जनाइएको छ।