१५ करोड बजेट फ्रिज भएपछि धुर्मुस अमेरिका फर्किए

१५ करोड बजेट फ्रिज भएपछि धुर्मुस अमेरिका फर्किए

काठमाडौं । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिका फर्किएका छन्। नेपालमा दुई महिना बसेर चितवनमा निर्माणाधीन रंगशालाको समस्या समाधानका लागि प्रयास गरे पनि सफलता नपाएको उनले बताएका छन्।

सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै धुर्मुसले रंगशालाका लागि विनियोजित १५ करोड रुपैयाँ बजेट फ्रिज हुने अवस्था आएको र आफू ऋणमुक्त हुन नसकेको बताएका छन्।

उनका अनुसार नेपाल आएपछि राज्यका विभिन्न निकायमा पुगेर समस्या समाधानका लागि पहल गरे पनि आफ्नो कुरा सुनुवाइ नभएको गुनासो गरेका छन्।

‘दुई महिना अथक प्रयास गरेँ, राज्यका ढोका-ढोका पुगेँ, न्यायको आशामा राज्यलाई गुहारेँ,’ उनले लेखेका छन्, ‘तर न राज्यले आवाज सुन्यो, न त आफ्नो पीडा मन खोलेर सुनाउने अवसर नै पाएँ।’

उनले रंगशाला निर्माणका क्रममा आफूहरूमाथि रहेको १८ करोड ४३ लाख रुपैयाँको दायित्व अझै बाँकी रहेको उल्लेख गर्दै भारी मनसहित मातृभूमि छाड्नुपरेको बताएका छन्।

‘आफ्नै देशमा न्याय खोज्दा आफ्नै आवाज बेवारिसे भएको अनुभूति भएको छ,’ उनले लेखेका छन्। आफूले करिब १० वर्ष समाज र राष्ट्रका लागि समर्पित गर्दा राज्यबाट यही परिणाम पाएको भन्दै उनले व्यंग्यसमेत गरेका छन्।

यद्यपि, धुर्मुसले आशा भने नछोडेको बताएका छन्। ‘मन निकै भारी भएको छ, ओठ कापेका छन्, आँखा रसाएका छन्, तर हृदयको कुनै कुनामा आशा अझै बाँकी छ,’ उनले लेखेका छन्।

राज्यले कुनै दिन आफ्नो पीडा बुझ्ने, संघर्षको मूल्यांकन गर्ने र देशप्रतिको समर्पणको कदर गर्ने विश्वास व्यक्त गर्दै उनले छिट्टै फेरि नेपाल फर्किएर आफ्ना शुभेच्छुकसँग भेट्ने आशा व्यक्त गरेका छन्।