

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई नेकपा एमालेसहित चार दलले विश्वासको मत दिने भएका छन्।
प्रदेशसभा बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री आचार्यले प्रस्ताव पेस गरेपछि दलका नेताहरूले आफ्नो धारणा राखेका थिए। एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले आचार्यको पक्षमा मतदान गर्ने घोषणा गरेका छन्।
एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका दल नेता जोखबहादुर महरा, जसपा नेपालकी हेमा बेल्वासे र राष्ट्रिय जनमोर्चाका तारा थापाले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने बताएका हुन्।
चार दलको समर्थनसँगै आचार्यको पक्षमा बहुमत जुटेको छ। विश्वासको मत लिनुअघि सरकार समर्थक दलका सांसदहरू एमाले प्रदेश कार्यालयमा भेला भएर सामूहिक रूपमा प्रदेशसभा पुगेका थिए।
यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने आचार्यको विपक्षमा मतदान गर्ने भएको छ। कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले विपक्षमा मतदान गर्ने जानकारी दिँदै पार्टीले ह्वीपसमेत जारी गरिसकेको बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीले भने पक्ष वा विपक्षमा मतदान नगरी तटस्थ बस्ने जनाएको छ। राप्रपाकी प्रमुख सचेतक मिनाकुमारी श्रेष्ठले मत विभाजनमा तटस्थ रहने जानकारी दिइन्।
त्यस्तै, जनमत पार्टीले पनि विश्वासको मतको विपक्षमा मतदान गर्ने जनाएको छ। दल नेता चन्द्रकेश गुप्ताले विपक्षमा मतदान गर्ने बताए।
नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन्। दलका नेताहरूले धारणा राखिसकेपछि प्रदेशसभामा मत विभाजनमार्फत प्रस्तावको टुंगो लगाउने प्रक्रिया अघि बढेको छ।