रेसुङ्गाको एक महिने साउने मेला सम्पन्न, सवा लाखभन्दा बढी श्रद्धालुले गरे दर्शन

रेसुङ्गाको एक महिने साउने मेला सम्पन्न, सवा लाखभन्दा बढी श्रद्धालुले गरे दर्शन

गुल्मी । गुल्मीको धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गामा साउन महिनाभर सञ्चालन भएको एक महिने साउने मेला सम्पन्न भएको छ। साउन १ गतेदेखि सुरु भएको मेलामा महिनाभर विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गरिएको थियो।

मेलाका क्रममा रेसुङ्गा पोखरीमा स्नान, पूजा–आराधना तथा विभिन्न धार्मिक स्थलको दर्शन गर्न गुल्मीसहित छिमेकी तथा अन्य जिल्लाबाट ठूलो संख्यामा श्रद्धालु भक्तजन रेसुङ्गा पुगेका थिए।

रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालका अनुसार एक महिनाको अवधिमा सवा लाखभन्दा बढी श्रद्धालु तथा पर्यटकले रेसुङ्गा भ्रमण गरेका छन्। गुल्मी, अर्घाखाँची, पाल्पा, बागलुङ, प्युठान, रुपन्देहीलगायत जिल्लाबाट भक्तजन तथा पर्यटक रेसुङ्गा पुगेका हुन्।

विशेषगरी साउने औँसी र एकादशीका दिन रेसुङ्गा क्षेत्रमा भक्तजनको उल्लेख्य भीड लागेको थियो। बिहानैदेखि रेसुङ्गा पोखरी तथा आसपासका धार्मिक स्थलमा भक्तजनको चहलपहल हुने गरेको थियो।

हिन्दू धर्मावलम्बीबीच धार्मिक आस्थाको महत्वपूर्ण केन्द्रका रूपमा परिचित रेसुङ्गा पोखरीमा स्नान तथा पूजा–आराधना गरेमा अन्जानमा भएका पाप नष्ट हुने धार्मिक विश्वास छ। यही धार्मिक आस्थाका कारण प्रत्येक वर्ष साउन महिनामा रेसुङ्गामा श्रद्धालुको चाप बढ्ने गरेको छ।

टाढाटाढाबाट आएका भक्तजनले पोखरीमा स्नान गरी पूजा–आराधना गर्नुका साथै मन्दिर तथा अन्य धार्मिक स्थलको दर्शन गरेका थिए। कतिपयले रेसुङ्गाको प्राकृतिक वातावरणमा समय बिताएका थिए। मेलालाई व्यवस्थित बनाउन संरक्षण समितिले धार्मिक गतिविधिसँगै भक्तजनको आवागमन तथा व्यवस्थापनमा समेत ध्यान दिएको जनाएको छ।

धार्मिक आस्थासँगै पर्यटनको आकर्षण

साउने मेलाका कारण रेसुङ्गाको धार्मिक महत्व थप उजागर हुनुका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुगेको समितिको विश्वास छ।

रेसुङ्गा धार्मिक स्थलका रूपमा मात्र नभई प्राकृतिक सौन्दर्य र मनोरम दृश्यावलोकनका लागि समेत आकर्षणको केन्द्र बन्दै गएको छ। उच्च पहाडी क्षेत्रमा अवस्थित रेसुङ्गाबाट गुल्मीका विभिन्न भूभाग तथा आसपासका पहाडी क्षेत्रको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।

रेसुङ्गामा निर्माण गरिएको भ्यूटावरबाट सदरमुकाम तम्घाससहित गुल्मीका विभिन्न क्षेत्र र आसपासका पहाडी भूभागको दृश्यावलोकन गर्न सकिन्छ। यसले आन्तरिक पर्यटकको आकर्षणसमेत बढाएको स्थानीयको भनाइ छ।

विशेषगरी सार्वजनिक बिदा तथा शनिबारका दिन रेसुङ्गा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्ने गरेको छ। धार्मिक स्थलको दर्शनसँगै प्राकृतिक वातावरणको आनन्द लिन चाहनेहरूका लागि रेसुङ्गा आकर्षक गन्तव्य बन्दै गएको छ।

साउन महिनामा धार्मिक पर्यटकको चाप उच्च रहे पनि अन्य समयमा पनि रेसुङ्गा घुम्न आउने पर्यटकको संख्या क्रमशः बढिरहेको छ। गुल्मी सदरमुकाम तम्घासबाट करिब २० मिनेटको सवारी यात्रामा पुग्न सकिने भएकाले रेसुङ्गाको पहुँचसमेत सहज छ।

साउने मेला सम्पन्न भए पनि रेसुङ्गामा धार्मिक तथा पर्यटकीय गतिविधि भने वर्षभरि नै सञ्चालन हुने जनाइएको छ।