

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।
सत्ता साझेदार नेपाली कांग्रेसले गत साउन १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन्।
कांग्रेसले नेकपा एमालेसँगको सत्ता सहकार्य तोड्ने निर्णय गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सातवटै प्रदेशमा सत्ता गठबन्धन गर्ने तीनबुँदे सहमति भएको थियो। त्यसपछि कांग्रेसले लुम्बिनी प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको थियो।
लुम्बिनी प्रदेश सभामा कुल ८७ सदस्य रहे पनि गत फागुनको निर्वाचनमा उम्मेदवार बन्न चार सांसदले राजीनामा दिएपछि हाल ८३ सदस्य कायम छन्।
हालको सदस्य संख्याका आधारमा प्रदेश सभामा बहुमतका लागि ४२ सांसदको समर्थन आवश्यक पर्छ।
प्रदेश सभामा एमालेका २९ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सभामुखसहित १३ सांसद छन्। यी दुई दलको कुल संख्या ४२ पुग्ने भएकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने अवस्था देखिएको छ।