

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट मुख्यमन्त्री बन्ने भएका छन्। मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शुक्रबार बिहान ११ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिएका छन्। भट्टले नेकपा र एमालेको समर्थनमा दाबी पेस गर्ने तयारी गरेका छन्।
दाबी पेस गरेपछि प्रदेश प्रमुखले आजै भट्टलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ। उनको शपथ दिउँसो ३ बजे गराउने तयारी गरिएको छ। नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँटसमेत भइसकेको छ। जसअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार र एमालेले तीन मन्त्रालय पाउने सहमति भएको छ।
शाहले बिहीबार प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका हुन्।