सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज राजीनामा दिदै

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज राजीनामा दिदै

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सरकार जोगाउने वा राजीनामा दिने विषयमा आज निर्णय हुने भएको छ। यसबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो ३ बजे बस्दैछ।

गत ३१ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका छन्। संवैधानिक व्यवस्थाअनुसार उनले आजभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने अवस्था छ।

मुख्यमन्त्री शाहले विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गर्न सभामुख भीम भण्डारीलाई पत्र पठाइसकेका छन्। प्रदेशसभाको बैठक आज साँझ ५ बजे बोलाउने तयारी छ।

५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ। कांग्रेसका १८ सांसद मात्र मुख्यमन्त्रीको पक्षमा छन्। त्यसमा पनि सांसद प्रकाश देउवा अमेरिकामा रहेकाले तत्काल १७ सांसदको मात्रै उपस्थिति हुने अवस्था छ। सरकार जोगाउन कांग्रेसलाई थप १० मत आवश्यक पर्ने देखिन्छ।

विश्वासको मतका लागि आवश्यक समर्थन सुनिश्चित नभएपछि कांग्रेसका केही सांसदले मुख्यमन्त्री शाहलाई राजीनामा दिन सुझाव दिएका छन्। कांग्रेसका सांसदहरूबीच आजको बैठकमा विश्वासको मत लिने वा राजीनामा दिने विषयमा अन्तिम निर्णय हुने बताइएको छ।

यसैबीच, काठमाडौंमा रहेका कांग्रेस सांसदहरूलाई मुख्यमन्त्री शाहले तत्काल धनगढी फर्किन आग्रह गरेका छन्। उनीहरू कैलाली फर्किरहेका छन्।

कांग्रेसका एक मन्त्रीका अनुसार साँझ ५ बजे प्रदेशसभा बैठकमा सम्बोधन गरेपछि मुख्यमन्त्री शाहले राजीनामा दिने सम्भावना छ। यद्यपि अन्तिम निर्णय भने आज दिउँसो बस्ने कांग्रेस संसदीय दलको बैठकले गर्नेछ।