‘नियत सफा भए चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छन्’- प्रधानमन्त्री बालेन

‘नियत सफा भए चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छन्’- प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नियत सफा र जिम्मेवारीप्रति इमानदार भए जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि काम गरेर सुधारका नयाँ ढोका खोल्न सकिने बताएका छन्।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत दोस्रोपटक धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले सरकारले राष्ट्रिय उद्योग तथा सार्वजनिक संस्थानको सुधारका लागि गरेका प्रयास र त्यसबाट देखिएका परिणामबारे जानकारी दिएका हुन्।

यसअघि शुक्रबार राति प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै आफूले ‘कहिलेकाहीँ एक्लै लड्नुपर्ने’ अवस्था आउने बताएका थिए।

शनिबारको पोस्टमा उनले वर्षौंदेखि बन्द वा घाटामा रहेका नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान (डीडीसी) र सिंहदरबार वैद्यखानालगायत संस्थामा सुधारका प्रयास भइरहेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको र गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा आर्जन गरेको दाबी गरेका छन्। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको उनले बताएका छन्।

त्यस्तै, बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनालाई परीक्षण उत्पादनको जिम्मेवारी दिइएको र तान मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको उनले जानकारी दिएका छन्।

नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिभन्दा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी भएको प्रधानमन्त्रीको दाबी छ। उक्त अवधिमा विमानको अकुपेन्सी ८६ प्रतिशत पुगेको र जहाज खरिदका लागि लिइएको ऋणबापत १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता भुक्तानी गरिएको उनले उल्लेख गरेका छन्।

डीडीसीमा किसानको दूधको बक्यौता भुक्तानीलाई प्राथमिकता दिइएको र भुक्तानी चक्र घटाइएको पनि प्रधानमन्त्री शाहले बताएका छन्। उनका अनुसार दूधको बिक्री ३५ प्रतिशतले बढेको तथा दैनिक औसत राजस्व ६० लाखबाट बढेर ९० लाख रुपैयाँ पुगेको छ।

सिंहदरबार वैद्यखानाबाट सरकार गठन भएपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरिएको र गत आर्थिक वर्षमा औषधिको कारोबार करिब १३ करोड रुपैयाँ पुगेको उनले बताएका छन्।

प्रधानमन्त्री शाहले इमानदारिता र देशप्रतिको समर्पण कायम रहेमा रुग्ण अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योगलाई समेत पुनर्जीवन दिन सकिने विश्वास व्यक्त गरेका छन्।

उनले उत्पादन बढाउँदै देशलाई आत्मनिर्भर बनाउने सरकारको अभियानमा सबैको रचनात्मक साथ, सहयोग र विश्वासको अपेक्षा गरेका छन्।