‘सुशासनको चाहनाले जन्मिएको नयाँ शक्ति लोकप्रियतावादका कारण टिक्दैन’ : शंकर पोखरेल

‘सुशासनको चाहनाले जन्मिएको नयाँ शक्ति लोकप्रियतावादका कारण टिक्दैन’ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई केवल सरकार परिवर्तनको रूपमा नभई आर्थिक–सामाजिक अन्तर्विरोध र जनअसन्तुष्टिको परिणामका रूपमा व्याख्या गरेका छन्। उनले आमनिर्वाचन–२०८२ मा नयाँ राजनीतिक शक्तिको उदय सुशासन, रोजगारी र भ्रष्टाचार नियन्त्रणप्रतिको जनअपेक्षाको अभिव्यक्ति भएको उल्लेख गर्दै लोकप्रियतावाद, अवसरवाद र अराजकतावादको आधारमा उभिएको शक्ति दीर्घकालसम्म टिक्न नसक्ने दाबी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक लामो विश्लेषणमा पोखरेलले पछिल्ला वर्षहरूमा पूर्वाधार विकास, सामाजिक सुरक्षा र वैदेशिक रोजगारीका अवसरका कारण नेपालीको जीवनस्तरमा सुधार आएको भए पनि त्यसअनुसार आर्थिक वृद्धि र वैधानिक आम्दानी बढ्न नसक्दा समाजमा असन्तुष्टि चुलिएको बताएका छन्।

उनका अनुसार उपभोगको स्तर बढ्दै जाँदा त्यसलाई धान्ने आम्दानी नबढेकाले जीवनस्तर र आयबीच गहिरो असन्तुलन सिर्जना भएको छ। यही अवस्थाले भ्रष्टाचार, कालोबजारी, अपराधीकरण, पैतृक सम्पत्तिको क्षय तथा तीव्र वैदेशिक पलायनलाई बढावा दिएको उनको भनाइ छ। राज्यले समयमै यी समस्याको सम्बोधन गर्न नसक्दा नागरिकमा निराशा र आक्रोश बढेको उनले उल्लेख गरेका छन्।

पोखरेलले आमनिर्वाचन–२०८२ मा मूलधारका राजनीतिक दलहरूले देशभक्ति, पूर्वाधार विकास र सामाजिक सुरक्षालाई मुख्य एजेन्डा बनाए पनि त्यसले मतदाताको मन जित्न नसकेको विश्लेषण गरेका छन्। बरु भ्रष्टाचार नियन्त्रण, सुशासन र रोजगारीलाई प्रमुख मुद्दा बनाएका वैकल्पिक राजनीतिक शक्तिले जनमत आफ्नो पक्षमा पार्न सफल भएको उनको भनाइ छ।

उनले सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमार्फत ‘पुराना दलबाट सम्भव नभएको परिवर्तन नयाँ शक्तिबाट मात्र सम्भव छ’ भन्ने भाष्य स्थापित गरिएको दाबी गर्दै मूलधारका दलहरूले त्यसको प्रभावकारी प्रतिवाद गर्न नसकेको टिप्पणी गरेका छन्।

महासचिव पोखरेलले नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा भूराजनीतिक प्रभावसमेत रहेको दाबी गरेका छन्। उनका अनुसार पुराना दलविरुद्ध र नयाँ शक्तिको पक्षमा जनमत निर्माण गर्न बाह्य चलखेल भएको थियो।

उनले जेन्जी अभियानका नाममा भएका प्रदर्शनलाई भिडन्ततर्फ मोडेर जनआक्रोश बढाउने प्रयास गरिएको दाबी गर्दै भदौ २३ र २४ गतेको घटनापछि भएको सत्ता परिवर्तनमा बाह्य हस्तक्षेप रहेको आरोपसमेत लगाएका छन्।

नयाँ राजनीतिक शक्तिको भविष्यबारे टिप्पणी गर्दै पोखरेलले लोकप्रियतावाद, अवसरवाद र अराजकतावादका आधारमा प्राप्त जनसमर्थन दीर्घकालसम्म टिक्न नसक्ने दाबी गरे। जनताका अपेक्षा व्यवहारमा पूरा गर्न नसके त्यस्ता शक्तिप्रतिको विश्वास क्रमशः कमजोर हुँदै जाने उनको निष्कर्ष छ।