गोकुल बास्कोटाको कटाक्ष : ‘सत्ता गठबन्धन विजय मल्लको ‘अन्तिम भोज’ जस्तै’

गोकुल बास्कोटाको कटाक्ष : ‘सत्ता गठबन्धन विजय मल्लको ‘अन्तिम भोज’ जस्तै’

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको सत्ता गठबन्धनको सहमतिप्रति व्यंग्य गर्दै यसलाई साहित्यकार विजय मल्लको चर्चित नाटक ‘अन्तिम भोज’सँग तुलना गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले सत्ता गठबन्धन बन्ने र भत्किने निर्णय केही सीमित नेताको गोप्य सहमतिमा हुने परम्परा बस्दै गएको टिप्पणी गरेका छन्। उनका अनुसार यस्ता सत्ता समीकरणले अन्ततः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नै राजनीतिक रूपमा फाइदा पुग्ने अवस्था सिर्जना गरेको छ।

उनले सत्ता गठबन्धन किन बन्छ र किन भत्किन्छ भन्ने विषय केही शीर्ष नेताबाहेक अरू कसैले समेत जानकारी नपाउने अवस्था विडम्बनापूर्ण रहेको उल्लेख गरेका छन्।

बास्कोटाले लेखेका छन्, “सत्ता समीकरणमा एमाले र माओवादीले देउवालाई पनि जित्ने हैसियत बनाए। खोपी सत्ता किन बन्छन् र भत्कन्छन्? ती सभाका केही सदस्य र खास नेता बाहेक अरूले सुइँको समेत नपाउने कुरा परम्परा नै बन्यो। हाँडी बोकेर स्वर्ग कि नर्क बतासझैँ बत्तिएका छन्। विजय मल्लको ‘अन्तिम भोज’ नै त यो होइन होला? अचम्म लाग्छ।”

उनको टिप्पणीलाई पछिल्लो सत्ता समीकरण र राजनीतिक गठबन्धनको शैलीप्रति गरिएको तीखो आलोचनाका रूपमा हेरिएको छ।