

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरण र संरचनागत सुधारका लागि नीतिगत आत्मविश्वास अपरिहार्य रहेको बताएका छन्। बुधबार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग भएको छलफलमा उनले निजी क्षेत्रले सहुलियतभन्दा पनि स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयनको अपेक्षा गरिरहेको बताए। सरकारको सोच, प्राथमिकता र कार्यसम्पादन एउटै दिशामा केन्द्रित हुनुपर्नेमा पनि उनले जोड दिए।
विगत एक दशकका आर्थिक नीतिको समीक्षा गर्दै अर्थमन्त्री वाग्लेले नीतिगत निर्णय भए पनि कार्यान्वयनमा अपेक्षित परिणाम किन आउन सकेन भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताए।
छलफलका क्रममा उनले उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह बढाउने, बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई रोजगारी र औद्योगिक उत्पादनमा रूपान्तरण गर्ने तथा पुँजी बजार र वास्तविक अर्थतन्त्रबीच स्वस्थ सम्बन्ध स्थापित गर्ने विषयमा राष्ट्र बैंकसँग सुझाव मागे। यस्तै, डिजिटल वित्त, फिनटेक, स्टार्टअप वित्तपोषण र नयाँ वित्तीय उपकरणलाई प्रोत्साहन गर्न आवश्यक नीतिगत सहजीकरण गर्नुपर्नेमा पनि उनले जोड दिए।
अर्थमन्त्री वाग्लेले निजी क्षेत्र किन क्रमशः प्रतिरक्षात्मक बन्दै गएको, पर्याप्त तरलता हुँदाहुँदै पनि उद्योगमा कर्जा विस्तार हुन नसकेको र उत्पादन तथा उत्पादकत्वले अपेक्षित गति लिन नसकेको विषयमा आत्मसमीक्षा आवश्यक रहेको बताए। नियमनले नवप्रवर्तनलाई रोकिरहेको छ वा प्रोत्साहन गरिरहेको छ भन्ने प्रश्नमा पनि गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ थियो।
उनले सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ प्रणाली र निजी क्षेत्र एउटै आत्मविश्वासका साथ अघि बढे आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन नहुने विश्वास व्यक्त गरे।
अर्थमन्त्रीले चालु आर्थिक वर्षको बजेटलाई सामान्य वार्षिक कार्यक्रम नभई आर्थिक सुधार र संरचनागत रूपान्तरणको मार्गचित्रका रूपमा व्याख्या गर्दै नेपाल राष्ट्र बैंकले आफ्नो भूमिकालाई केवल नियामक संस्थामा सीमित नराखी आर्थिक रूपान्तरणको सहयात्री र सह–निर्माताका रूपमा अघि बढ्नुपर्ने धारणा राखे।
उनले सरकारले कानुनी संशोधन र संस्थागत सुधारको प्रक्रिया अघि बढाइसकेको उल्लेख गर्दै मौद्रिक नीतितर्फबाट पनि सोहीअनुरूपको स्पष्टता र गति आवश्यक रहेको बताए। छलफलबाट आएका सुझावलाई कार्ययोजनामा रूपान्तरण गरिने र आवश्यक परे नीतिगत समन्वयका लागि संयुक्त कार्यदल गठन गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।