

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले पर्याप्त तयारीबिनै डोजर चलाएर हजारौँ नागरिकलाई विस्थापित बनाएको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै उनले सरकारले सुकुम्वासी समस्या समाधानभन्दा ‘स्टन्ट’ गर्नतर्फ ध्यान दिएको टिप्पणी गरे।
आङ्देम्बेले डोजरले टहरा मात्र नभई नागरिकको बाँच्ने आशा, परिवारको सहारा र आधारभूत जीवनयापनको आधारसमेत भत्काएको बताए। भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन भएकाले यसको न्यायोचित समाधान गर्नुपर्ने उनको भनाइ थियो।
उनले वास्तविक भूमिहीन र सुकुम्वासीको पहिचान गरी सुरक्षित आवासको ग्यारेन्टी गर्नु राज्यको संवैधानिक दायित्व भएको उल्लेख गर्दै पहिरोको जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने बताए।
बागमती, मनोहरा लगायत नदी किनारका वास्तविक सुकुम्वासीलाई पहिचान गरी उचित पुनर्स्थापना गर्नुपर्ने तथा शक्तिको आडमा कानुनविपरीत हदबन्दीभन्दा बढी जग्गा ओगट्नेहरूको विवरण सार्वजनिक गरी त्यस्तो जग्गा सरकारको स्वामित्वमा ल्याएर वास्तविक भूमिहीनको व्यवस्थापनमा प्रयोग गर्नुपर्ने उनको माग थियो।
आङ्देम्बेले वन, निकुञ्ज र सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्नेमा जोड दिँदै सरकारले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानतर्फ चासो नदेखाएको आरोप लगाए। समितिबाट पारित कानुन संसदबाट छिटो पारित गरेर कार्यान्वयन गर्नुपर्नेमा सरकारले तयारीबिनै डोजर चलाएर नागरिकलाई उठीबास लगाएको उनको आरोप थियो।