स्पेसएक्सको फाल्कन-९ चन्द्रमामा ठोक्किएको दाबी

स्पेसएक्सको फाल्कन-९ चन्द्रमामा ठोक्किएको दाबी

काठमाडौं । स्पेसएक्सको फाल्कन-९ रकेटको प्रयोगविहीन अपर स्टेज चन्द्रमाको सतहमा ठोक्किएको अनुमान गरिएको छ। यद्यपि, वैज्ञानिकहरूले घटनाको औपचारिक पुष्टि हुन अझै समय लाग्ने बताएका छन्। ठोक्किने क्षणको कुनै प्रत्यक्ष तस्बिर उपलब्ध छैन, किनकि त्यसबेला चन्द्रमाको परिक्रमा गरिरहेका कुनै पनि अन्तरिक्षयानले उक्त घटना अभिलेख गर्न सकेका थिएनन्।

अब वैज्ञानिकहरूले चन्द्रमाको सतहका पुराना र नयाँ तस्बिर तुलना गरेर नयाँ खाल्डो वा अन्य प्रभावका चिन्ह खोज्नेछन्। यस प्रक्रियाबाट घटनाको पुष्टि हुन केही समय लाग्न सक्ने जनाइएको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार यस घटनाबाट पृथ्वीलाई कुनै खतरा छैन। बरु चन्द्रमाको सतहबारे नयाँ वैज्ञानिक जानकारी प्राप्त गर्न तथा अन्तरिक्षमा रहेका वस्तुको निगरानी प्रविधि थप प्रभावकारी बनाउन यो घटना उपयोगी हुन सक्ने अपेक्षा गरिएको छ।

चिलीस्थित परानाल वेधशालाका टेलिस्कोप सञ्चालक रोड्रिगो पालोमिनोसले अनुमानित समयमा फाल्कन-९ को अपर स्टेज चन्द्रमामा ठोक्किएको संकेत प्राप्त भएको बताएका छन्। उनका अनुसार त्यस समयमा प्रकाश उत्सर्जनका केही रेखामा असामान्य परिवर्तन देखिएको थियो, जसले ठोक्किएपछि बाहिर निस्किएको पदार्थको सम्भावित संकेत दिन सक्छ। यद्यपि, उनले यो प्रारम्भिक संकेत मात्र भएको उल्लेख गर्दै घटनाको अन्तिम पुष्टि विस्तृत वैज्ञानिक विश्लेषणपछि मात्रै हुने स्पष्ट पारे।