मृतक रविन्द्र मेहताका परिवारसँग गृहमन्त्रीको वार्ता

मृतक रविन्द्र मेहताका परिवारसँग गृहमन्त्रीको वार्ता

काठमाडौं । उपचारका क्रममा निधन भएका रविन्द्र मेहताका परिवारसँग गृहमन्त्री सुधन गुरुङले वार्ता सुरु गरेका छन्।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मंगलबार साँझ गृहमन्त्री र मृतकका परिवारबीच छलफल भइरहेको हो।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते राति भएको घटनामा घाइते भएका २२ वर्षीय मेहताको उपचारका क्रममा मंगलबार निधन भएको थियो।

यसअघि गृहमन्त्री गुरुङले हिन्दु र मुस्लिम समुदायका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। गृहमन्त्रालयमा भएको छलफलमा पछिल्ला घटनाक्रम, शान्ति–सुरक्षा, साम्प्रदायिक सद्भाव तथा विवाद समाधानका उपायबारे विचारविमर्श भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार मुलुकका विभिन्न क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थालाई सामान्य बनाउन र आपसी सद्भाव कायम राख्न दुवै समुदायका प्रतिनिधिसँग छलफल गरिएको हो।