

मुम्बई । अभिनेत्री श्रुति हासनले आफ्नो व्यक्तित्व तथा प्रचारसम्बन्धी अधिकार (पर्सनालिटी राइट्स) को उल्लङ्घन भएको भन्दै एआई डिपफेक सामग्रीविरुद्ध बम्बे उच्च अदालतमा निवेदन दर्ता गरेकी छन्।
उनले एआईद्वारा सिर्जित नक्कली सामग्री, तोडमोड गरिएका भिडियो, भ्रामक विज्ञापन तथा आफ्नो अनुमति बिना व्यापारिक प्रयोजनका लागि प्रयोग गरिएका सामग्री हटाउन अदालतबाट आदेश जारी गर्न माग गरेकी हुन्।
अदालतले हासनलाई यस विषयमा व्यावसायिक मुद्दा दायर गर्न अनुमति दिएको छ। अब बौद्धिक सम्पत्ति अधिकार उल्लङ्घनसम्बन्धी दाबीमा अन्तरिम राहतका लागि पनि छिट्टै सुनुवाइ हुने अपेक्षा गरिएको छ।
निवेदनमा फेसबुक, इन्स्टाग्राम, युट्युब, एक्स, मेटालगायत सामाजिक सञ्जाल प्लेटफर्म तथा अन्य अज्ञात व्यक्तिलाई विपक्षी बनाइएको छ। हासनले आफ्नो अनुमति बिना आफ्नो तस्बिर प्रयोग गरी पोस्टर बिक्री गरिएको र आफ्ना अधिकार उल्लङ्घन गर्ने सामग्रीलाई सामाजिक सञ्जालले प्रवर्द्धन गरेको आरोप लगाएकी छन्।
उनले एआईमार्फत तयार गरिएका केही भिडियोले आफूलाई अन्य कलाकारसँग प्रेम सम्बन्धमा रहेको भन्दै गलत सूचना फैलाएको दाबी पनि गरेकी छन्।
हालै अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन, रश्मिका मन्दन्ना, अक्षय कुमार र सुनील शेट्टीलगायतका कलाकारहरूले पनि एआई डिपफेक र आफ्नो पहिचानको दुरुपयोगविरुद्ध कानुनी प्रक्रिया अघि बढाइसकेका छन्।