

काठमाडौं । निर्देशक राजिव गुरुङको निर्देशनमा नयाँ नेपाली चलचित्र ‘आशा’ निर्माण हुने भएको छ। शर्मिला थापाको लगानीमा बन्ने चलचित्रको कथा तथा पटकथा निर्देशक गुरुङ स्वयंले लेखेका हुन्।
अग्रज प्राविधिकलाई सम्मान गर्दै आयोजित विशेष कार्यक्रममा चलचित्रको कथा, कलाकार र प्राविधिक टोली सार्वजनिक गरिएको थियो।
चलचित्रमा महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, शुशांक मैनाली, आशान्त शर्मा, केनिपा सिंह र कविता रेग्मीलगायत कलाकारको मुख्य भूमिका रहनेछ।
निर्मात्री शर्मिला थापाका अनुसार ‘आशा’ ले आधुनिक व्यस्त जीवनशैलीका बीच ओझेलमा पर्दै गएको पारिवारिक सम्बन्ध र भावनात्मक बन्धनको कथा प्रस्तुत गर्नेछ। परिवारको कुनै सदस्यको अभावले मात्रै उसको महत्व गहिरोसँग महसुस हुने यथार्थलाई चलचित्रमार्फत दर्शकसामु प्रस्तुत गरिने उनले बताइन्।
पारिवारिक सम्बन्ध, भावना र जीवनका यथार्थलाई केन्द्रमा राखेर निर्माण हुन लागेको ‘आशा’ ले सबै उमेर समूहका दर्शकलाई छुने अपेक्षा निर्माण टिमको छ।