

काठमाडौं । नेपाली लोक संगीतका नयाँ प्रतिभालाई राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यसहित लोकप्रिय रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन अभियान सुरु हुने भएको छ। आयोजक एभेन्टोज स्टुडियोले सातै प्रदेशका प्रतिभाशाली गायक–गायिकालाई समेट्ने गरी यसपटक अझ व्यापक रूपमा अडिसन सञ्चालन गर्न लागेको जनाएको छ।
आयोजकका अनुसार पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करणलाई अझ भव्य, व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने तयारी गरिएको छ। यस संस्करणमा देशका विभिन्न जिल्लाबाट मौलिक लोक प्रतिभा छनोट गरी राष्ट्रिय मञ्चमा प्रस्तुत गरिनेछ।
प्रतियोगिताको निर्णायक मण्डलमा चर्चित लोकगायिका कोमल वली तथा वरिष्ठ लोकगायक राजु परियार र चन्द्र शर्मा रहनेछन्।
प्रतियोगितामा सहभागिताका लागि कम्तीमा १६ वर्ष उमेर पुगेका नेपाली नागरिक हुनुपर्नेछ। महिला र पुरुष दुवैका लागि प्रतियोगिता खुला रहने आयोजकले जनाएको छ।
देशभरबाट छनोट भएका उत्कृष्ट प्रतिभाबीच प्रतिस्पर्धा हुने ‘लोक दोहोरी स्टार सिजन–२’ एपीवान एचडी टेलिभिजनमार्फत प्रसारण गरिनेछ। आयोजकले यस संस्करणले नेपाली लोक संगीत क्षेत्रमा नयाँ पुस्ताका प्रतिभालाई स्थापित गर्न थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।