

काठमाडौं । चलचित्र ‘पार्वती’की नायिका निता ढुंगानाले बाल कलाकार अशोक दर्जीसँग सम्बन्धित सार्वजनिक भएको भिडियोप्रति दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गरेकी छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ढुंगानाले घटनाको वास्तविकता अझै पूर्ण रूपमा बाहिर नआएको उल्लेख गर्दै भिडियो हेर्दा लेनदेनसँग सम्बन्धित विषय जस्तो देखिए पनि सत्य तथ्य कानुनी प्रक्रियामार्फत स्पष्ट हुनुपर्ने बताएकी छन्।
उनले कसैको गल्ती भए पनि कानुनको दायराबाहिर गएर गालीगलौज, कुटपिट वा सार्वजनिक रूपमा अपमान गर्नु कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पारेकी छन्।
ढुंगानाका अनुसार उक्त घटना अहिलेको नभई धेरै अघिको हो। यदि विषय गम्भीर थियो भने त्यही समयमा सार्वजनिक हुनुपर्ने भिडियो अहिले, अशोक दर्जीको निरन्तर मेहनत र सफलताले चर्चा पाइरहेको बेला बाहिर ल्याइनु शंकास्पद देखिएको उनको भनाइ छ।
उनले अशोक दर्जीले सम्बन्धित निकायमा दिएको निवेदनसमेत सार्वजनिक गर्दै घटनालाई एकपक्षीय रूपमा नभई तथ्य र आधिकारिक दस्तावेजका आधारमा मूल्याङ्कन गर्न सबैसँग आग्रह गरेकी छन्।
ढुंगानाले सामान्य परिवारबाट आफ्नो प्रतिभाको बलमा अघि बढिरहेका कलाकार अशोक दर्जीलाई अहिले सबैको साथ, सहयोग र निष्पक्ष न्याय आवश्यक रहेको उल्लेख गर्दै सत्य तथ्यको आधारमा मात्रै निष्कर्षमा पुग्न आग्रह गरेकी छन्।
