

काठमाडौं । देशभर आज पनि मनसुनी वायुको प्रभाव कायम रहँदा अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई भूभाग नजिक रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।
विभागका अनुसार हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ भने पहाडी भूभागका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। पहाडी क्षेत्रका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेशका धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकीका हिमाली तथा पहाडी क्षेत्र र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
विभागले भारी वर्षा हुने क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भू-क्षयको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै प्रतिकूल मौसमका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, पर्वतारोहण र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचनामा नियमित अपडेट रहन अनुरोध गरेको छ।