

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नाम्सी नयाँ पुल क्षेत्रमा आज बिहान ढुङ्गा खस्दा यातायात सेवा प्रभावित भएको छ। घटनापछि सडकमा हाल एकतर्फी मात्रै सवारी आवागमन सञ्चालन भइरहेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार ढुङ्गा खस्नेबित्तिकै सडक खुलाउन पहिरो पन्छाउने काम सुरु गरिएको छ।
उनले थप ढुङ्गा नखसे केही समयमै सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताए। वर्षायामका कारण उक्त सडकखण्ड पहिरोको उच्च जोखिममा रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन तथा सुरक्षा निकायबाट जारी हुने सूचनाको पालना गर्न प्रहरीले चालक र यात्रुलाई आग्रह गरेको छ।