आजदेखि नागढुंगा सुरुङमार्ग सञ्चालनमा, उद्घाटनपछि सुरु हुँदै परीक्षण यात्रा

आजदेखि नागढुंगा सुरुङमार्ग सञ्चालनमा, उद्घाटनपछि सुरु हुँदै परीक्षण यात्रा

काठमाडौं । बहुप्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको प्रमुख आतिथ्यमा बिहान १०ः२५ बजे आयोजना हुने कार्यक्रममा जापानका राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षसहित उच्च अधिकारीहरूको सहभागिता रहनेछ।

उद्घाटनपछि मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र सवारी चलाएर मार्ग सञ्चालनको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ।

सुरुवाती चरणमा एम्बुलेन्स, सुरक्षा निकायका सवारीसाधन तथा अन्य अत्यावश्यक सेवाका सवारीलाई मात्रै सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। केही दिन सुरक्षा अवस्था, ट्राफिक व्यवस्थापन र सञ्चालन प्रणालीको परीक्षण गरेपछि सबै प्रकारका सवारीसाधनका लागि मार्ग खुला गरिने सडक विभागले जनाएको छ।

परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिइनेछ। करिब २ हजार ६ सय ८८ मिटर लामो सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि भने तोकिएको शुल्क लागू हुनेछ।

सडक विभागका अनुसार कार र भ्यानले काठमाडौं प्रवेश गर्दा रु. ६५ र बाहिरिँदा रु. ६० शुल्क तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरले काठमाडौं आउँदा रु. ११५ तथा बाहिरिँदा रु. ८० शुल्क लाग्नेछ। यस्तै, ठूला बस र ट्रकका लागि काठमाडौं प्रवेश शुल्क रु. २६० र बाहिरिने शुल्क रु. २०० निर्धारण गरिएको छ।