नेपालमा बाघको संख्या ४२९ पुग्यो, चार वर्षमा थपिए ७४ पाटेबाघ

नेपालमा बाघको संख्या ४२९ पुग्यो, चार वर्षमा थपिए ७४ पाटेबाघ

चितवन । नेपालमा पाटेबाघको संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गरेको पछिल्लो गणनाअनुसार चार वर्षको अवधिमा ७४ वटा बाघ थपिएका हुन्।

विश्व बाघ दिवसको अवसरमा बुधबार सार्वजनिक गरिएको बाघ गणनाको प्रतिवेदनअनुसार सन् २०२२ (२०७८) मा देशभर ३५५ वटा बाघ रहेकोमा अहिले संख्या बढेर ४२९ पुगेको छ।

पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा सबैभन्दा धेरै १४५ वटा बाघ रहेका छन्। त्यस्तै, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा ११२, पर्सा राष्ट्रिय निकुञ्जमा ७१, बाँके राष्ट्रिय निकुञ्जमा ५१ तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ५० वटा बाघ गणना गरिएको छ।

अघिल्लो गणनासँग तुलना गर्दा चितवनमा १७, बाँकेमा २६, पर्सामा ३० र शुक्लाफाँटामा १४ वटा बाघ थपिएका छन्। तर, बर्दिया राष्ट्रिय निकुञ्जमा भने बाघको संख्या १३ वटाले घटेको प्रतिवेदनले देखाएको छ।

यसअघि २०७४ सालको गणनामा नेपालमा २३५ वटा बाघ रहेका थिए। त्यसपछि २०७८ मा संख्या १२० ले बढेर ३५५ पुगेको थियो। तर, यसपटक बाघको संख्या बढे पनि वृद्धिदर भने अघिल्लो अवधिको तुलनामा घटेको छ। अघिल्लो गणनामा करिब ५१ प्रतिशतले वृद्धि भएकोमा यसपटक वृद्धि २१ प्रतिशतमा सीमित रहेको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अत्याधुनिक ‘क्यामेरा ट्र्यापिङ’ प्रविधिको प्रयोग गरी देशभर बाघको गणना गर्दै आएको छ। विभागका अनुसार पछिल्लो नतिजाले नेपालमा बाघ संरक्षण अभियान प्रभावकारी भए पनि दीर्घकालीन संरक्षण, बासस्थान व्यवस्थापन र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा अझै निरन्तर प्रयास आवश्यक रहेको संकेत गरेको छ।