सोमबार उद्घाटन हुँदै नागढुंगा-सिस्नेखोला सुरुङमार्ग, एक महिनापछि पूर्ण सञ्चालनमा

सोमबार उद्घाटन हुँदै नागढुंगा-सिस्नेखोला सुरुङमार्ग, एक महिनापछि पूर्ण सञ्चालनमा

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन हुने भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र नेपाल सरकारको संयुक्त लगानीमा करिब १९ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यो आयोजना नेपालको पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार सुरुङमार्गको मुख्य सुरुङ २.६८ किलोमिटर लामो छ भने इभ्याकुएसन टनेल र क्रस–प्यासेजसहित कुल सुरुङको लम्बाइ करिब ५.५ किलोमिटर पुगेको छ। जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले २०७६ सालदेखि निर्माण सुरु गरेको आयोजना अब सञ्चालनको अन्तिम चरणमा पुगेको हो।

उद्घाटनपछि पहिलो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारीसाधनलाई मात्रै सुरुङ प्रयोग गर्न दिइनेछ। त्यसपछि ‘मक ड्रिल’मार्फत सुरक्षा प्रणाली परीक्षण गरी एकतर्फी परीक्षण सञ्चालन गरिनेछ। जेट फ्यान, भेन्टिलेसन र अन्य प्राविधिक प्रणालीको परीक्षण सफल भएपछि करिब एक महिनाभित्र सुरुङमार्ग सर्वसाधारणका लागि पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागले जनाएको छ।

सुरक्षा कारण देखाउँदै मोटरसाइकल तथा प्रज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई भने सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन।

नागढुंगाको जोखिमपूर्ण उकालो, पहिरो र लामो ट्राफिक जामको समस्या कम गर्दै काठमाडौं भित्रिने र बाहिरिने यात्रालाई छिटो, सुरक्षित र सहज बनाउने अपेक्षा गरिएको यो सुरुङमार्गलाई नेपालको सडक पूर्वाधार विकासको नयाँ युगको सुरुआतका रूपमा लिइएको छ।