

काठमाडौं । अभिनेत्री उषा रजकले आफूले उठाएको साइबर ह्यारेसमेन्टको घटनामा अन्ततः न्याय पाएको बताउँदै नेपाल प्रहरीको साइबर ब्यूरोलाई धन्यवाद दिएकी छन्। केही दिनअघि रातिको समयमा एक व्यक्तिले म्यासेन्जरमार्फत फोन गरेर आफूलाई ह्यारेसमेन्ट गर्न खोजेको आरोप लगाउँदै साइबर ब्यूरोबाट सहयोग नपाएको र असुरक्षित महसुस भएपछि अष्ट्रेलिया जानुपरेको बताएकी रजकले अब भने आफ्नो धारणा परिवर्तन भएको जनाएकी हुन्।
मंगलबार सामाजिक सञ्जालमार्फत नयाँ भिडियो सार्वजनिक गर्दै उनले साइबर ब्यूरोले आफ्नो उजुरीलाई गम्भीरतापूर्वक लिएर कानुनी प्रक्रिया पूरा गरी न्याय दिलाएको बताइन्। यद्यपि, उनले कसरी न्याय प्राप्त भयो भन्नेबारे भने खुलाएकी छैनन्।
रजकले आफू अहिले नेपालमा सुरक्षित महसुस गरिरहेको उल्लेख गर्दै भनिन्, “आज म अत्यन्त खुसी छु। साइबर ब्यूरोले मेरो मुद्दालाई प्रक्रिया अनुसार अघि बढाएर न्याय दिएको छ। म नेपालकी नागरिक हुनुमा अहिले सुरक्षित महसुस गरिरहेकी छु।” उनले आफूलाई कसैमाथि व्यक्तिगत रिस नभएको स्पष्ट पार्दै आफूले खोजेको असल व्यवहार र न्याय दुवै प्राप्त भएको बताइन्।
साथै, साइबर अपराधबाट पीडित जो–कोहीलाई साइबर ब्यूरोमा सम्पर्क गर्न आग्रह गर्दै उनले ब्यूरोले यस्ता उजुरीलाई गम्भीरतापूर्वक लिने विश्वास व्यक्त गरिन्। साइबर ब्यूरोको फेसबुक पेजमा उजुरी दर्ता गर्ने प्रक्रिया र आवश्यक जानकारी उपलब्ध रहेको उल्लेख गर्दै उनले आवश्यक परे कानुनी प्रक्रियामा अगाडि बढ्न सबैलाई आग्रह गरिन्। रजकले आफ्नो कठिन समयमा साथ, हौसला र समर्थन गर्ने सबैप्रति आभार व्यक्त गर्दै न्यायका लागि पीडित स्वयं पनि अघि बढ्नुपर्ने सन्देश दिएकी छन्।