‘बाः एक योद्धा’को नयाँ पोस्टर सार्वजनिक, दसैँको परिवेशमा लुकेको पारिवारिक रहस्यको संकेत

‘बाः एक योद्धा’को नयाँ पोस्टर सार्वजनिक, दसैँको परिवेशमा लुकेको पारिवारिक रहस्यको संकेत

काठमाडौं। आगामी भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बाः एक योद्धा’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक दुई पोस्टरले चलचित्रलाई पूर्ण पारिवारिक कथावस्तुमा आधारित भावनात्मक सिनेमाका रूपमा प्रस्तुत गर्दै कथाभित्र लुकेको रहस्य र द्वन्द्वको झल्को दिएका छन्।

पहिलो पोस्टरमा एउटा मध्यमवर्गीय परिवारको खुसी क्षणलाई चित्रण गरिएको छ। पोस्टरमा दिव्यदेव पन्त र झरना थापा बसेका छन् भने सुहाना थापा, सागर खनाल र सुप्रज्ञा शर्मा उनीहरूको पछाडि उभिएका देखिन्छन्। भर्खरै रातो माटोले लिपपोत गरिएको परम्परागत घर, आँगनको परिवेश र परिवारसँगै देखिएको कुकुरले नेपाली गाउँघरको दसैँमय वातावरणलाई जीवन्त बनाएको छ। यसले चलचित्रले पारिवारिक सम्बन्ध र नेपाली समाजको यथार्थलाई केन्द्रमा राखेको संकेत गर्छ।

यता दोस्रो पोस्टरले भने पहिलो पोस्टरको खुसी वातावरणभन्दा बिल्कुलै फरक मनोविज्ञान प्रस्तुत गरेको छ। पोस्टरमा पात्रहरूको अनुहारमा कौतुहल, तनाव र द्वन्द्व स्पष्ट देखिन्छ। झरना थापा र सुहाना थापाको अनुहारले कुनै अप्रत्याशित घटनाको संकेत गर्छ भने दिव्यदेव पन्त र अनिल बुढाथोकीको भावभंगिमामा आक्रोश झल्किन्छ। अर्का कलाकार माओत्से गुरुङको कुटिल मुस्कानले कथामा रहस्य र संघर्ष थपिएको अनुमान गर्न सकिन्छ।

सार्वजनिक पोस्टरहरूले एक सुखी देखिने परिवारको जीवनमा अचानक आउने घटनाले कथाले नयाँ मोड लिने संकेत गरेका छन्, जसले चलचित्रप्रति दर्शकको उत्सुकता अझ बढाएको छ।

चलचित्रमा झरना थापा, सुहाना थापा, दिव्यदेव पन्त, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा, अनिल बुढाथोकी तथा माओत्से गुरुङको मुख्य अभिनय रहेको छ।

निर्देशक हरि लम्सालको लेखन तथा निर्देशन रहेको ‘बाः एक योद्धा’ कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा, भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रको कथा र पटकथा पनि लम्साल स्वयंले तयार पारेका हुन् भने वसन्त लम्साल निर्माता रहेका छन्। चलचित्रको छायांकन शिवराम श्रेष्ठले गरेका छन्।

पारिवारिक सम्बन्ध, त्याग, संघर्ष र भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको ‘बाः एक योद्धा’ यस वर्षको प्रतीक्षित नेपाली पारिवारिक चलचित्रमध्ये एक मानिएको छ।