विपद्को जोखिम बढेपछि सरकारको निर्देशन: स्थानीय तहका कर्मचारीले कार्यालय नछाड्ने

विपद्को जोखिम बढेपछि सरकारको निर्देशन: स्थानीय तहका कर्मचारीले कार्यालय नछाड्ने

काठमाडौं । देशभर अविरल वर्षा, बाढी र पहिरोको जोखिम बढ्दै गएपछि सरकारले स्थानीय तहका कर्मचारीलाई कार्यालय नछाड्न निर्देशन दिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासनतर्फको स्थानीय तह समन्वय शाखाले जिल्ला समन्वय समिति र सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै विपद्को समयमा कर्मचारी अनिवार्य रूपमा कार्यालयमा उपस्थित रहन भनेको हो।

मन्त्रालयले विपद् व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन नियमित रूपमा कार्यालयमा उपस्थित भई जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको छ।

हाल बिदामा रहेका कर्मचारीलाई समेत बिदा छोट्याएर तत्काल सम्बन्धित कार्यालयमा फर्किन र आफ्नो जिम्मेवारी सम्हाल्न आग्रह गरिएको छ। यस्तै, विशेष परिस्थितिवश कार्यालय छाड्नुपर्ने अवस्था आएमा सम्बन्धित निकायको पूर्वस्वीकृति लिएर मात्र जिम्मेवारीको उचित व्यवस्था गरी कार्यालय छाड्नुपर्ने मन्त्रालयको निर्देशनमा उल्लेख छ।