

काठमाडौं। फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले फिफा विश्वकप-२०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान गरिने ‘गोल्डेन बुट’ अवार्ड जित्दै नयाँ इतिहास रचेका छन्। एम्बाप्पे विश्वकप इतिहासमा लगातार दुई संस्करणमा गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका हुन्। उनले यसअघि कतार विश्वकप-२०२२ मा ८ गोल गर्दै पनि यही अवार्ड जितेका थिए।
यस संस्करणमा एम्बाप्पेले ८ खेलमा १० गोल गर्दै अर्जेन्टिनाका कप्तान लियोनल मेसी (८ गोल)लाई पछि पार्दै गोल्डेन बुट आफ्नो नाममा पारे। तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्स इंग्ल्यान्डसँग ६-४ ले पराजित भए पनि एम्बाप्पेले दुई गोल गर्दै आफ्नो कुल गोल संख्या १० पुर्याएका थिए।
यस विश्वकपमा उनले नर्वेका एर्लिङ हालान्ड र इंग्ल्यान्डका जुड बेलिङ्घम (७-७ गोल), साथै ह्यारी केन र उस्मान डेम्बेले (६-६ गोल)लाई समेत पछि पारे। प्रतियोगिताभर एम्बाप्पेले समूह चरणमा सेनेगलविरुद्ध २ गोल, इराकविरुद्ध २ गोल, राउन्ड अफ ३२ मा स्विडेनविरुद्ध २ गोल, राउन्ड अफ १६ मा पाराग्वेविरुद्ध पेनाल्टीमार्फत १ गोल, सेमिफाइनलमा मोरक्कोविरुद्ध १ गोल तथा तेस्रो स्थानको खेलमा इंग्ल्यान्डविरुद्ध २ गोल गर्दै कुल १० गोल गरेका हुन्।
लगातार दुई विश्वकपमा गोल्डेन बुट जित्दै एम्बाप्पेले आफूलाई विश्व फुटबलका सर्वोत्कृष्ट गोलकर्तामध्ये एकका रूपमा थप स्थापित गरेका छन्।