काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा पार्किङ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीका महामन्त्री विपिन आचार्यले सोमबार विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता र प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको बताएका छन्।
विज्ञप्तिमा रास्वपाले आफू लोकतन्त्र, विधिको शासन, पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुने मौलिक अधिकार तथा स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गरेको छ।
पार्टीले कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रतामाथि अंकुश लगाउने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने वा लोकतन्त्रको चौथो अंगका रूपमा रहेको सञ्चार क्षेत्रलाई दबाबमा पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट गरेको छ।
रास्वपाले घटनाको तत्काल, निष्पक्ष र तथ्यपरक छानबिन गर्न, सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न तथा यसमा संलग्न जोसुकै भए पनि पहिचान गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग माग गरेको छ।
साथै, पार्टीले सञ्चारकर्मी तथा सञ्चार संस्थाहरूलाई कुनै पनि प्रकारको दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित, निष्पक्ष र व्यावसायिक पत्रकारितालाई निरन्तरता दिन आग्रह गरेको छ।