आज संसद्का चार समितिको बैठक, महत्वपूर्ण एजेन्डामा छलफल

आज संसद्का चार समितिको बैठक, महत्वपूर्ण एजेन्डामा छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका चारवटा समितिको बैठक आज बस्दैछ। बैठकमा विकास आयोजना, विधेयक, मानवअधिकार तथा संघीयतासम्बन्धी विभिन्न विषयमा छलफल हुने कार्यसूची छ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक बिहान ८ः३० बजे बस्नेछ। बैठकमा राष्ट्रिय योजना आयोगसँग आर्थिक वर्ष २०८२/८३ मा भएका प्रमुख काम, १६औँ आवधिक योजनाको कार्यान्वयन, मध्यकालीन खर्च संरचना तथा राष्ट्रिय गौरव र प्राथमिकताका आयोजनाको प्रगतिबारे छलफल हुनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल हुनेछ। छलफलमा सम्बन्धित मन्त्री, सचिव, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक तथा विषयविज्ञ सहभागी हुनेछन्।

त्यसैगरी, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि दिउँसो १ बजे बस्नेछ। बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानवअधिकार अवस्थासम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गरिनेछ।

यता, राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ। बैठकमा मधेश प्रदेशमा गरिएको स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची रहेको छ।