

काठमाडौं । निर्वाचन आयोगको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेकी छन्। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी असार २३ गते ६५ वर्षे उमेर हदका कारण अवकाश भएपछि आयोगको वरीयताअनुसार डा. तुलाधरलाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी दिइएको हो।
भण्डारीकै नेतृत्वमा गत फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो।
पाँच सदस्यीय रहने निर्वाचन आयोगमा हाल डा. तुलाधर र आयुक्त सगुनशमशेर जबरा मात्र कार्यरत छन्। यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको कार्यकाल २०८२ वैशाख ५ गते र निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलको कार्यकाल २०७९ फागुन ४ गते समाप्त भएको थियो।
यसैबीच, संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र दुई निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका उम्मेदवारविरुद्ध उजुरी आह्वान गर्दै सुनुवाइ प्रक्रिया अघि बढाएको छ।संवैधानिक परिषद्ले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको छ।