विश्वप्रकाशको प्रधानमन्त्रीलाई आग्रह : ‘जनताको पीडा सुन्नुहोस्, आशा जगाउनुहोस्’

विश्वप्रकाशको प्रधानमन्त्रीलाई आग्रह : ‘जनताको पीडा सुन्नुहोस्, आशा जगाउनुहोस्’

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन शाहलाई जनताको पीडाप्रति संवेदनशील र जिम्मेवार बन्न आग्रह गर्दै साझा राष्ट्रिय मुद्दामा कांग्रेस सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।भिडियो सन्देश जारी गर्दै शर्माले विश्वकप फुटबलको चर्चा भइरहेका बेला मुलुकभित्र भने गणेश नेपालीको आत्मदाह, कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा भोक र रोगसँग संघर्ष गरिरहेका नागरिकको अवस्था चिन्ताजनक रहेको उल्लेख गरे।

उनले गणेश नेपाली र यसअघि प्रेम आचार्यको आत्मदाह घटनालाई स्मरण गर्दै नेतृत्वप्रतिको जनविश्वास कमजोर हुँदै गएको भन्दै यसलाई राजनीतिक दृष्टिकोणबाट नभई सामाजिक संकटका रूपमा हेर्नुपर्ने बताए। शर्माले समाजमा आशा हराउँदै जानु सबैभन्दा ठूलो चिन्ताको विषय भएको उल्लेख गर्दै सरकारले जनताको पीडा सम्बोधन गर्न ढिलाइ गर्न नहुने बताए।

उनले प्रधानमन्त्री बालेन शाहलाई प्रधानमन्त्री बन्नुअघिको संवेदनशीलता सम्झिन आग्रह गर्दै गरिब र विपन्न नागरिकको पक्षमा दृढतापूर्वक उभिन अनुरोध गरे। होल्डिङ सेन्टरमा कसैले पनि भोकै बस्नुपर्ने अवस्था आउन नदिन सरकारलाई आग्रह गर्दै शर्माले कांग्रेस सरकारको आलोचना मात्र होइन, समाधानका लागि साथ दिन पनि तयार रहेको स्पष्ट पारे। उनले भने, जनताको आशा र विश्वास जोगाउने दायित्व सरकारको भएकाले विषयको गम्भीरता बुझेर मानवीय ढंगले समाधान खोज्न आवश्यक छ। देश र प्रतिपक्ष दुवै सरकारको साथमा उभिन तयार रहेको उनको भनाइ छ।