

काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।
अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार बिहान भएको पहिलो क्वाटरफाइनलमा पहिलो हाफमा पेनाल्टी गुमाएको फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै लगातार तेस्रो पटक विश्वकपको अन्तिम चारमा स्थान सुरक्षित गर्यो।
खेलको २८औँ मिनेटमा एमबाप्पेले पाएको पेनाल्टी मोरक्कोका गोलकिपर यासिन बोनोले शानदार रूपमा बचाएका थिए। पहिलो हाफभर बोनोले पेनाल्टीसहित तीन महत्वपूर्ण सेभ गर्दै फ्रान्सलाई गोल गर्नबाट रोकेका थिए।
तर दोस्रो हाफमा फ्रान्सको दबाबलाई मोरक्कोले रोक्न सकेन। ६०औँ मिनेटमा डिजायर डुएको पासमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसको छ मिनेटपछि कप्तान एमबाप्पेकै पासमा उसमान डेम्बेलेले दोस्रो गोल थप्दै फ्रान्सको जित सुनिश्चित गरे।
यस जितसँगै फ्रान्सले सन् २०१८ को उपाधिपछि अर्को विश्वकप फाइनलतर्फको यात्रा कायम राखेको छ। अब फ्रान्सले फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
यता पराजयसँगै मोरक्कोको अन्तर्राष्ट्रिय फुटबलमा लगातार ३४ खेलको अपराजित यात्रा पनि समाप्त भएको छ।
एमबाप्पेले यस विश्वकपमा आठौँ गोल गर्दै अर्जेन्टिनाका कप्तान लियोनल मेसीको गोल संख्या बराबरी गरेका छन्। यद्यपि तीन असिस्टका कारण उनी गोल्डेन बुटको दौडमा मेसीभन्दा अगाडि छन्। डेम्बेलेले पनि प्रतियोगितामा आफ्नो पाँचौँ गोल गर्दै फ्रान्सको आक्रमणलाई थप धारिलो बनाएका छन्।