बेल्जियमको गोल वर्षा, सहआयोजक अमेरिका विश्वकपबाट बाहिरियो

बेल्जियमको गोल वर्षा, सहआयोजक अमेरिका विश्वकपबाट बाहिरियो

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत अन्तिम १६ को खेलमा बेल्जियमले सहआयोजक अमेरिका माथि ४–१ को प्रभावशाली जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

भर्खरै सम्पन्न खेलमा बेल्जियमले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै अमेरिकालाई दबाबमा राख्यो। खेलको नवौँ मिनेटमै चाल्स डे केटलेरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

अमेरिकाले ३१औँ मिनेटमा तिल्मानको गोलमार्फत खेल बराबरीमा ल्याउने प्रयास गरे पनि त्यो खुसी लामो समय टिक्न सकेन। त्यसको दुई मिनेटपछि एन रास्किनले गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए र पहिलो हाफ २–१ को अवस्थामा सकियो।

दोस्रो हाफमा पनि बेल्जियमको दबदबा कायम रह्यो। डे केटलेरले ५७औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता थप फराकिलो बनाए। त्यसपछि इन्जुरी समयको अन्तिम क्षणमा रोमेलु लुकाकुले गोल थप्दै बेल्जियमको ४–१ को सानदार जित सुनिश्चित गरे।

यससँगै बेल्जियम विश्वकपको अन्तिम आठमा पुगेको छ भने सहआयोजक अमेरिकाको उपाधि यात्रा अन्तिम १६ मै टुंगिएको छ। सन् २००२ पछि पहिलोपटक विश्वकपको क्वार्टरफाइनल पुग्ने अमेरिकाको सपना पनि अधुरै बनेको छ।

अब बेल्जियमले सेमिफाइनल प्रवेशका लागि क्वार्टरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। दुई युरोपेली शक्तिबीच हुने यो भिडन्तलाई प्रतियोगिताकै सर्वाधिक रोमाञ्चक खेलमध्ये एकका रूपमा हेरिएको छ।