

काठमाडौं । उत्तर अमेरिका (अमेरिका, मेक्सिको र क्यानडा) मा जारी फिफा विश्वकप–२०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ। अन्तिम १६ को अन्तिम खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गरेसँगै अन्तिम आठमा पुग्ने सबै टोलीको टुंगो लागेको हो।
यसपटक क्वार्टरफाइनलमा युरोपेली टोलीहरूको पूर्ण दबदबा देखिएको छ। अन्तिम आठमा युरोपबाट फ्रान्स, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्यान्ड र स्विट्जरल्यान्ड गरी ६ टोली पुगेका छन् भने दक्षिण अमेरिकाबाट अर्जेन्टिना र अफ्रिकाबाट मोरक्को मात्रै अन्तिम आठमा स्थान बनाउन सफल भएका छन्।
प्रतियोगिताका दौरान कीर्तिमानी पाँचपटकको विश्व विजेता ब्राजिल, क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल तथा तीनै सहआयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानडा अन्तिम १६ बाटै बाहिरिएका छन्।
विश्वकपको नकआउट चरणले यसपटक अप्रत्याशित नतिजा, नाटकीय पुनरागमन र ऐतिहासिक उपलब्धिहरूको साक्षी बन्यो। मोरक्कोले सहआयोजक क्यानडालाई ३–० ले पराजित गर्दै लगातार दोस्रो पटक क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्रको इतिहास रच्यो। साविक उपविजेता फ्रान्सले किलियन एमबाप्पेको निर्णायक पेनाल्टी गोलमा पाराग्वेलाई १–० ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गर्यो।
नर्वेले एर्लिङ हालान्डको अन्तिम समयमा आएको दुई गोलको मद्दतमा ब्राजिललाई २–१ ले हराउँदै पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनायो। यससँगै ३६ वर्षपछि ब्राजिल क्वार्टरफाइनल पुग्न असफल रह्यो।
इंग्ल्यान्डले एक खेलाडी कम हुँदा पनि सहआयोजक मेक्सिकोलाई ३–२ ले हरायो भने स्पेनले इन्जुरी समयमा मिकेल मेरिनोको गोलमार्फत पोर्चुगललाई १–० ले स्तब्ध पार्दै अन्तिम आठमा प्रवेश गर्यो।
बेल्जियमले सहआयोजक अमेरिकालाई ४–१ ले हराएर आफ्नो उत्कृष्ट लय कायम राख्दा साविक विजेता अर्जेन्टिनाले इजिप्टविरुद्ध २–० ले पछि परेको अवस्था उल्टाउँदै ३–२ को अविस्मरणीय जित निकाल्यो। अन्तिम खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै ७२ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो।
एक दिनको विश्रामपछि क्वार्टरफाइनलका खेल सुरु हुनेछन्।
-फ्रान्स vs मोरक्को – सन् २०२२ को सेमिफाइनलको पुनः भेट।
-स्पेन vs बेल्जियम – युरोपका दुई बलिया टोलीबीच रोमाञ्चक भिडन्त।
-नर्वे vs इंग्ल्यान्ड – पहिलोपटक क्वार्टरफाइनल पुगेको नर्वेविरुद्ध अनुभवी इंग्ल्यान्ड।
-अर्जेन्टिना vs स्विट्जरल्यान्ड – साविक विजेता अर्जेन्टिनासामु ७२ वर्षपछि अन्तिम आठ पुगेको स्विट्जरल्यान्डको चुनौती।
व्यक्तिगत प्रदर्शनतर्फ गोल्डेन बुटको होड पनि चर्किएको छ। अर्जेन्टिनाका कप्तान लियोनल मेसी ८ गोलसहित शीर्ष स्थानमा छन्। फ्रान्सका किलियन एमबाप्पे र नर्वेका एर्लिङ हालान्ड समान ७ गोलसहित उनलाई पछ्याइरहेका छन्। एमबाप्पेको नाममा दुई असिस्ट पनि छ।
इंग्ल्यान्डका कप्तान ह्यारी केन ६ गोलसहित प्रतिस्पर्धामा कायम छन्। विशेषगरी नर्वे र इंग्ल्यान्डबीच हुने क्वार्टरफाइनलमा हालान्ड र केनबीचको गोल्डेन बुट प्रतिस्पर्धा थप रोचक बन्ने अपेक्षा गरिएको छ।
-फ्रान्स vs मोरक्को – असार २६, बिहान १:४५ बजे (बोस्टन स्टेडियम)
-स्पेन vs बेल्जियम – असार २७, बिहान १२:४५ बजे (लस एन्जलस स्टेडियम)
-नर्वे vs इंग्ल्यान्ड – असार २८, बिहान २:४५ बजे (मायामी स्टेडियम)
-अर्जेन्टिना vs स्विट्जरल्यान्ड – असार २८, बिहान ६:४५ बजे (कान्सास सिटी स्टेडियम)