

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्सविरुद्धको क्वाटरफाइनल खेलअघि मोरक्कोलाई ठूलो झट्का लागेको छ। टोलीका प्रभावशाली फरवार्ड इस्माइल साइबारी ह्यामस्ट्रिङ चोटका कारण आजको निर्णायक खेल गुमाउने भएका छन्।
मोरक्को र फ्रान्सबीचको क्वाटरफाइनल नेपाली समयअनुसार आज राति १:४५ बजे हुँदैछ। खेलअघि आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक मोहम्मद ओआहबीले साइबारी पूर्ण रूपमा फिट नभएकाले मैदान उत्रन नसक्ने पुष्टि गरेका हुन्।
उनका अनुसार क्यानडाविरुद्धको अन्तिम १६ को खेलमा चोट बोकेका साइबारी समयमै पुनः फिट हुन सकेनन्। “साइबारीबाहेक सबै खेलाडी शतप्रतिशत तयार छन्। यो खेल उनका लागि धेरै चाँडो आयो। तर प्रतियोगिताको बाँकी यात्रा उनले गुमाउन नपरोस् भन्ने हाम्रो आशा छ,” ओआहबीले भने।
हालै नेदरल्यान्ड्सको पीएसभी आइन्डहोभेनबाट करिब ५ करोड युरोमा बायर्न म्युनिख पुगेका साइबारी यस विश्वकपमा मोरक्कोका सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एक मानिएका छन्। उनले समूह चरणका तीनवटै खेलमा गोल गरेका थिए भने अन्तिम ३२ मा नेदरल्यान्ड्सविरुद्ध पेनाल्टी सुटआउटमा निर्णायक प्रहार गर्दै टोलीलाई जित दिलाएका थिए।
तर क्यानडाविरुद्ध ३–० को जितका क्रममा पहिलो हाफमै ह्यामस्ट्रिङमा समस्या देखिएपछि उनी मैदान छाड्न बाध्य भएका थिए। मोरक्को सेमिफाइनल पुगेमा भने साइबारी पुनरागमन गर्न सक्ने सम्भावना रहेको प्रशिक्षक ओआहबीले संकेत गरेका छन्।
मोरक्को यसपटक फ्रान्ससँग चार वर्षअघिको विश्वकप सेमिफाइनलमा बेहोरेको २–० को हारको बदला लिने लक्ष्यसहित मैदानमा उत्रँदै छ। सन् २०२२ मा मोरक्को विश्वकपको अन्तिम चारमा पुग्ने पहिलो अफ्रिकी तथा अरब राष्ट्र बनेर इतिहास रचेको थियो।
प्रशिक्षक ओआहबीले क्वाटरफाइनलसम्म पुग्नु नै ठूलो उपलब्धि भएको भन्ने धारणालाई अस्वीकार गर्दै टोलीको लक्ष्य स्पष्ट रूपमा सेमिफाइनल रहेको बताए।
“हामी जित्नकै लागि खेल्दैछौँ। क्वाटरफाइनलसम्म आइपुग्नु नै पर्याप्त हो, अब जे भए पनि बोनस हो भन्ने सोच हामीसँग छैन,” उनले स्पष्ट पारे।
यता रियल मड्रिडका स्टार तथा मोरक्काका मिडफिल्डर ब्राहिम डियाजले फ्रान्सलाई उपाधिको प्रमुख दाबेदार माने पनि आफ्नो टोली कुनै पनि प्रतिद्वन्द्वीलाई चुनौती दिन सक्षम रहेको बताए।
क्लब फुटबलका सहकर्मी किलियन एम्बाप्पेविरुद्ध खेल्न तयार रहेका डियाजले भने, “फ्रान्स उत्कृष्ट टोली हो, तर हामीले यहाँसम्मको यात्राले कुनै पनि टिमसँग प्रतिस्पर्धा गर्न सक्छौँ भन्ने प्रमाणित गरिसकेका छौँ। मलाई हाम्रो टोलीमाथि पूर्ण विश्वास छ।”