देशभर वर्षाको सक्रियता बढ्दै, काठमाडौंमा तीन दिनसम्म निरन्तर पानी पर्ने सम्भावना

देशभर वर्षाको सक्रियता बढ्दै, काठमाडौंमा तीन दिनसम्म निरन्तर पानी पर्ने सम्भावना

काठमाडौं । मनसुन थप सक्रिय बनेसँगै देशका अधिकांश क्षेत्रमा वर्षाको क्रम जारी रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहानदेखि नै देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने विभिन्न प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। हाल कोसी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै क्षेत्रमा वर्षा भइरहेको महाशाखाले जनाएको छ।

दिउँसो भारी वर्षाको सम्भावना

महाशाखाका अनुसार दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

त्यसैगरी कोसी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका थोरै क्षेत्रमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।

राति पनि वर्षा कायमै रहने

रातिको समयमा पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

यस्तै मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि वर्षाको सम्भावना छ। महाशाखाले मधेस, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

काठमाडौंमा लगातार तीन दिन पानी पर्ने अनुमान

मौसमविद् सरोज पुडासैनीका अनुसार काठमाडौं उपत्यकामा बिहीबारदेखि आगामी तीन दिनसम्म वर्षाको गतिविधि जारी रहने सम्भावना छ।

उनका अनुसार बिहीबार बिहान उपत्यकाका सबै वर्षा मापन केन्द्रमा हल्का वर्षा रेकर्ड भएको छ। अहिले मौसम केही खुले पनि दिउँसो २–३ बजेदेखि पुनः मध्यम वर्षा हुने सम्भावना रहेको उनले बताए।

मौसमविद् पुडासैनीले शुक्रबार काठमाडौं उपत्यकामा भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिँदै वर्षाका कारण हुन सक्ने डुबान, पहिरो तथा सडक अवरोधप्रति आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मनसुन सक्रिय रहने प्रक्षेपण गर्दै विशेषगरी पहाडी तथा तराई क्षेत्रका बासिन्दालाई मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउन अनुरोध गरेको छ।