आज देशभर वर्षाको सम्भावना, बागमती-गण्डकीमा भारी र सुदूरपश्चिममा धेरै भारी वर्षा हुन सक्ने

आज देशभर वर्षाको सम्भावना, बागमती-गण्डकीमा भारी र सुदूरपश्चिममा धेरै भारी वर्षा हुन सक्ने

काठमाडौं । मनसुनी वायुको प्रभावका कारण बिहीबार देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाएको छ।

बिहानको अवस्थाअनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश आकाश बदली रहेको छ भने कोसी र बागमती प्रदेशमा सामान्यदेखि आंशिक बदली तथा मधेस प्रदेशमा आंशिक बदली रहेको छ। बागमती र गण्डकीका पहाडी क्षेत्रका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

महाशाखाका अनुसार दिउँसो देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको तराईका केही स्थान, लुम्बिनी प्रदेशको तराईका थोरै स्थान तथा मधेस, कोसी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना छ।

विशेषगरी बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

रातिको समयमा पनि देशका हिमाली भूभागका थोरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा मधेस र कोसी प्रदेशका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। गण्डकी र बागमती प्रदेशका केही स्थानमा राति पनि भारी वर्षा हुन सक्ने महाशाखाको प्रक्षेपण छ।

मौसमविद् रोजन लामिछानेका अनुसार बिहीबार बिहान काठमाडौं उपत्यकाको आकाशमा बादल लागेको छ भने केही स्थानमा हल्का वर्षा भइरहेको छ। बिहानको वर्षा क्रमशः कम हुँदै जाने र केही समय घाम लाग्न सक्ने सम्भावना रहेको उनले बताए।

तर दिउँसोपछि पुनः बादल विकसित हुने र काठमाडौं उपत्यकामा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् लामिछानेले बताएका छन्। मौसममा आउने परिवर्तनलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन पनि मौसमविद्हरूले सर्वसाधारणलाई आग्रह गरेका छन्।