काठमाडौं उपत्यका र काभ्रेमा बर्डफ्लुकाे उच्च जोखिम अझै यथावत

काठमाडौं उपत्यका र काभ्रेमा बर्डफ्लुकाे उच्च जोखिम अझै यथावत

ललितपुर । देशका अधिकांश जिल्लामा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण नियन्त्रणमा आए पनि काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा भने संक्रमणको जोखिम अझै कायम रहेको पशु सेवा विभागले जनाएको छ।

विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवनलगायत जिल्लामा बर्डफ्लु पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। तर काठमाडौं, ललितपुर, भक्तपुर तथा काभ्रेपलाञ्चोकमा संक्रमण नियन्त्रणका प्रयास जारी रहेका छन्।

पशु सेवा विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा संक्रमणको अवस्था स्थिर रहे पनि काभ्रेपलाञ्चोकमा बर्डफ्लुको फैलावट अझ तीव्र देखिएको छ।

संक्रमण नियन्त्रणका लागि हालसम्म देशभर ७ लाख ५४ हजार ५०० वटा पन्छी, १० लाख ९१ हजार ३०३ वटा अण्डा तथा २ लाख ४३ हजार ६३५ किलोग्राम दाना नष्ट गरिएको विभागले जनाएको छ।

तीमध्ये काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा मात्रै २ लाख ८६ हजार २७७ वटा पन्छी, १ लाख ७९ हजार ६४ वटा अण्डा र ७४ हजार किलोग्राम दाना नष्ट गरिएको तथ्यांकले देखाएको छ।

डा. उपाध्यायका अनुसार जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन गरी सङ्घीय तथा स्थानीय सरकारको समन्वयमा विस्तृत प्रतिवेदन तयार पारिएको छ। सोही प्रतिवेदनका आधारमा संक्रमित क्षेत्रका पन्छी नष्ट गर्ने, जैविक सुरक्षा उपाय कडाइका साथ लागू गर्ने तथा संक्रमण थप फैलिन नदिन आवश्यक नियन्त्रण कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको उनले बताए।

विभागले कुखुरापालक किसान तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन, कुनै असामान्य अवस्थामा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन तथा जैविक सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ।