

काठमाडौं । काठमाडौँ महानगरपालिकाले डेङ्गु रोगको जोखिम बढ्न थालेसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने भएको छ। महानगरले असारभित्रै पहिलो चरणमा सबै वडामा अभियान सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।
महानगर महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका सम्पर्क व्यक्ति ऋषिप्रसाद भुसालका अनुसार अभियानका लागि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायमा आधारित सङ्घसंस्थाका प्रतिनिधिलाई तालिम दिएर परिचालन गरिनेछ।
उनका अनुसार यस वर्षको वर्षायाममा डेङ्गु नियन्त्रणका लागि तालिमप्राप्त एक हजार ६५० जना जनशक्ति परिचालन गर्ने योजना बनाइएको छ। महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय क्लब, टोल सुधार समिति, आमा समूहलगायतका प्रतिनिधिलाई तालिम प्रदान गरी उनीहरूलाई वडावडामा खटाएर डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिनेछ।
भुसालले डेङ्गु सङ्क्रमण तथा यसबाट हुने मृत्युदर घटाउने राष्ट्रिय लक्ष्यअनुसार निगरानी तथा अनुगमन प्रणाली सुदृढ गर्ने, कीट नियन्त्रण, जोखिम सञ्चार, सामुदायिक सहभागिता, स्वास्थ्य प्रणालीको पूर्वतयारी, बहुक्षेत्रीय सहकार्य, कार्यक्रम व्यवस्थापन तथा अनुसन्धान र नवप्रवर्तनलाई अभियानका प्रमुख रणनीतिका रूपमा अघि बढाइएको बताए।
महानगरका अनुसार मनसुन सुरु भएसँगै साउनदेखि डेङ्गु सङ्क्रमण बढ्ने र कात्तिक–मङ्सिरमा उच्च बिन्दुमा पुग्ने भएकाले अहिले नै रोकथामका उपाय प्रभावकारी रूपमा लागू गर्न सके यस वर्ष विगतको तुलनामा सङ्क्रमणदर घटाउन सकिने अपेक्षा गरिएको छ।
डेङ्गु फैलाउने एडिस जातको लामखुट्टे पानी जम्ने स्थानमा बढी प्रजनन गर्ने भएकाले सडक र सडकपेटीका खाल्डाखुल्डी, गमला, पानी जम्मा गरिएका भाँडा, पुराना टायर, करेसाबारी, कौसी तथा बरण्डामा पानी जम्न नदिन महानगरले सर्वसाधारणलाई आग्रह गरेको छ।
संक्रमित एडिस लामखुट्टेको अण्डाबाट लार्भा हुँदै वयस्क बनेको लामखुट्टेले मानिसलाई टोकेपछि डेङ्गु सङ्क्रमण हुने गर्दछ। सामान्यतया संक्रमित लामखुट्टेको टोकाइपछि चारदेखि सात दिनभित्र उच्च ज्वरो, टाउको दुख्ने, शरीर र जोर्नी दुख्ने लगायतका लक्षण देखिन सक्छन्।