‘अर्को कोरोना महामारी होइन’ : हान्टाभाइरसबारे नआत्तिन डब्ल्यूएचओ प्रमुखको आग्रह

‘अर्को कोरोना महामारी होइन’ : हान्टाभाइरसबारे नआत्तिन डब्ल्यूएचओ प्रमुखको आग्रह

स्पेन । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोसले हान्टाभाइरस प्रभावित पानीजहाजका कारण स्थानीय नागरिकलाई नआत्तिन आग्रह गरेका छन्। उनले हालको अवस्था “अर्को कोरोना महामारीजस्तो नभएको” स्पष्ट पार्दै जनस्वास्थ्य जोखिम अहिले न्यून रहेको बताएका हुन्।

नेदरल्यान्ड्सको झण्डा बोकेको ‘एमभी होन्डियस’ नामक पानीजहाजमा १ सय ४० भन्दा बढी यात्रु तथा चालकदलका सदस्य रहेका छन्। जहाज पश्चिम अफ्रिकाको तट नजिक रहेको स्पेनको क्यानरी टापु समूहअन्तर्गत टेनेरिफे पुग्ने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

टेड्रोससहित स्पेनकी स्वास्थ्य मन्त्री मोनिका गार्सिया र गृहमन्त्री फर्नान्डो ग्रान्दे–मार्लास्का टेनेरिफे पुगेर यात्रु तथा चालकदललाई सुरक्षित रूपमा जहाजबाट बाहिर निकाल्ने तयारीमा जुटेका छन्।

स्थानीय बासिन्दालाई सम्बोधन गर्दै टेड्रोसले कोरोना महामारीको अनुभवका कारण मानिसहरूमा चिन्ता हुनु स्वाभाविक भए पनि हालको अवस्था नियन्त्रणमै रहेको बताए। डब्ल्यूएचओका अनुसार जहाजमा देखिएको भाइरस ‘एन्डिज स्ट्रेन’ हान्टाभाइरस हो, जसमा सीमित मानव–मानव संक्रमण सम्भव भए पनि व्यापक फैलावटको जोखिम कम रहेको छ।

डब्ल्यूएचओ, स्पेनी अधिकारीहरू तथा जहाज सञ्चालन कम्पनीका अनुसार हाल जहाजमा रहेका अधिकांश यात्रुमा सक्रिय लक्षण नदेखिएको र उनीहरूको स्वास्थ्य अवस्थामाथि निरन्तर निगरानी भइरहेको छ।

हान्टाभाइरस प्रायः मुसा तथा अन्य कृन्तक जनावरबाट सर्ने भाइरस हो। यसको संक्रमणले ज्वरो, थकान, श्वासप्रश्वासमा समस्या लगायत गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ। यद्यपि स्वास्थ्य विशेषज्ञहरूले हालको अवस्थालाई नियन्त्रणयोग्य रहेको बताएका छन्।